को बन्ला जिल्ला समन्वय समिति बाजुराको प्रमुख ?

बाजुराको बुढिगंगा नगरपालिकाकाको निर्वाचन सम्पन्न भएसँगै सबैको ध्यान यतिबेला जिल्ला समन्वय समितितर्फ केन्द्रित भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति बाजुराको प्रमुख को बन्ला भन्ने चर्चा सुरु भएको छ । 

विवादका कारण रोकिएको बुढीगंगाको निर्वाचन असार २३ गते मतदान भयो । २६ गते चुनाबको अन्तिम परिणाम आएर नवनिर्वाचित जनप्रतिनिधिले शपथसहित पदभार ग्रहण गरी कामकाजमा लागिसकेका छन् । निर्वाचनमा एमालेले जितेको छ । बुढीगंगामा निर्वाचन सम्पन्न भएको दिनदेखि नै समन्वयको चर्चा चल्न थालेको हो ।

बुढिगंगा नगरपालिकामा पनि एमालेले जितेपछि जिल्ला समन्वय समिति बाजुरामा एमालेकै नेतृत्व बन्ने पक्का भएको छ । समन्वयमा एमालेको नेतृत्व पक्का भएपछि प्रमुखमा कसलाई बनाउने भन्ने चर्चा चलिरहेको छ । यतिबेला जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा दुईजनाको नाम चर्चामा छ ।

समन्वय प्रमुखमा नेकपा एमालेका नेता तुलसीराम रोकाया र हिक्मत थापाको नाम अगाडि छ । तुलसीराम रोकाया र हिक्मत थापा दुवैजना एमालेका पुराना अनुहारका रुपमा चिनिन्छन् ।

रोकाया गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गौमुल गाउँपालिका–६बाट वडा सदस्य निर्वाचित भएका छन् । 

९ वटा स्थानीय तह रहेको बाजुरामा नेकपा एमालले ६ पालिका जितेको छ । बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढिनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र छेडेदह गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमा एमाले नै जितेको छ । 



हिमाली गाउँपालिकामा अध्यक्ष र खप्तड छेडेदह गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जितेको छ भने स्वामीकार्तिक खापर गाउँपालिका र त्रिवेणी नगरपालिकामा कांग्रेसले जितेको छ । 

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ । तर, बुढिगंगाको निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्नुपर्ने निर्णयपछि समन्वय समिति गठन प्रक्रिया रोकिएको थियो ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १९:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया