भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताएका हुन् । 

उनले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । उनले आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको बताए ।

‘भाषिक एकीकरणका नायक आदिकवि भानुभक्तबाट सिर्जित साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रूपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुद बनाउन ठूलो योगदान पुर्‍याउनुभएको छ । विभिन्न राज्यहरूको विभाजित भूगोललाई एकीकरण गर्दै अघि बढेको तत्कालीन संघर्षपूर्ण नेपालमा आदिकवि भानुभक्त आचार्यले रामायणलगायतका रसिला साहित्यिक रचनाको माध्यमबाट आधुनिक चेतना र जागरण फैलाइ समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन अतुलनीय योगदान पुर्‍याउनुभएको हो,’ देउवाले भने ।

उनले भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गरे ।  

‘आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न, आदर्श चरित्रमा परिणत गरी भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत हुनुहुन्छ । यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो । राष्ट्रिय विभूतिहरूको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक रहेको छ,’ प्रधानमन्त्री देउवाले भने ।

उनले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरूपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान पुर्‍याएको बताए । देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए । 



भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभातफेरी कार्यक्रमसमेत गरेको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी थिए ।  



  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ११:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया