धानबालीमा खपटे किराको प्रकोप, किसान चिन्तित

लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको  छ । बेँसीशहर नगरपालिका–११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । 

रामचोक फाँटमा राइस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ ।  

कृषि ज्ञान केन्द्र र बेँसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् । खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् । 

फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकोटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए । 

किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरूलाई विषादी उपलब्ध गराइएको छ ।  





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया