आधुनिक पिङले गोदावरीमा पर्यटक बढ्दै

सुदूरपश्चिमका विभिन्न जिल्लामा पर्यटकीय गन्तव्यका लागि क्षेत्रहरू समेत पहिचान हुन थालेका छन् । कैलालीमा मात्र धेरै वटा पर्यटकीय क्षेत्रहरू रहेका छन् । कति प्राकृतिक छन् । कति कृत्रिम छन् । जति नयाँ पर्यटकीय गन्तव्यस्थलहरूको पहिचान भयो त्यति नै आन्तरिक तथा बाह्य पर्यटकहरू पुगेका हुन्छन् । हिजो–आज सामाजिक सञ्जालले गर्दा पनि घुम्न जानेहरू अझ बढेका छन् । टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालले गर्दा सामूहिक तरिकाले घुम्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न र खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटनको मुख्य रोजाइमा पर्ने गरेको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने गोदावरी अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकहरूको ठूलो भिडभाड लाग्न थालेको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ बासपानीमा नयाँ पिङ सञ्चालनमा आएपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । पिङमा टिकटक बनाउनको लागि दैनिक पुग्ने गरेका छन् । पिङ गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै रहेको छ ।

करिब २५ लाखको लगानीमा आधुनिक पिङ खोलिएको बताइएको छ । पिङ खेल्न अहिले दैनिक २ सयको हाराहारीमा पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । शनिबार धेरै भिडभाड लाग्ने गर्दछ । पिङ बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ सञ्चालनमा आउँदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीयहरू बताउँछन् । प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक सङ्ख्या बढी हुने गरेको छ ।

नयाँ र आधुनिक पिङले सुदूरपश्चिमको औद्योगिक पर्यटकीय क्षेत्रलाई टेवा पुग्ने अनुमान गरिएको धनगढीबाट बासपानी पुगेका धनगढीका गजेन्द्र भट्टले बताए । ‘चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाइलो ठाउँ हो’, उनले भने ‘त्यसमा पनि यस्ता पिङ ले गर्दा अझ पर्यटकहरू बढ्ने छन् । ’ 

पिङ तराई र पहाडको बिचमा हुँदा अझै सौन्दर्यता बढेको छ । पिङसम्म पुग्ने बाटो सहज छैन । बाटो सहज हुन सकेमा कैलाली र कञ्चनपुरका पर्यटकहरू बढ्ने गोदावरी नगरपालिका वडा नम्बर ३ का नरबहादुर रावतले बताए । ‘तराईमा गर्मी भएको समयमा चिसो वातावरणमा रमाउन पुग्नेहरू चुरेमा दैनिक पुग्छन्’, उनले भने ‘चुरेमा पुगेकाहरूलाई पिङ भएको क्षेत्र सम्म पुग्न वातावरण सञ्चालन गर्नेले गर्न आवश्यक छ ।’ उनले अहिले टिकटकले गर्दा पनि यस्ता क्षेत्रमा पर्यटकहरू पुग्ने गरेका बताए ।



आधुनिक पिङ सञ्चालनमा ल्याएको २ हप्ता मात्रै भएको सञ्चालक पुष्कर जोशीले बताए । यहाँका स्थानीयहरू मनोरञ्जनकै लागि अन्य ठाउँमा जाने भएकाले अब आफ्नै गाउँ ठाउँमा पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गरेको बताउँदै आधुनिक पिङ सञ्चालन गर्दा सबैबाट राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ ।  

स्थानीय तहबाट पनि राम्रो प्रतिक्रिया पाएको बताउँदै पिङ मात्रै नभई केही दिनमा अन्य थप व्यवस्थापन गर्ने उनले जानकारी दिए । गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरिएको अर्का पिङ सञ्चालक हिक्मत महराले जानकारी दिए । पिङ निर्माण गर्दा धेरै ठूलो लगानी र समय लागेको बताउँदै आगामी दिनमा पिङसँगै जिप लाइन पनि सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । 



यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र घर परिवार तथा अन्य ठाउँबाट राम्रो सहयोग पाइरहेको उनले बताए । आधुनिक पिङ खेल्न आउने एक जनाबाट तीन सय र दुई जना भए पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।  

  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १३:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया