महिला क्रिकेट : फाइनलमा नेपाल ७० रनले पराजित, पहिलाे अन्तर्राष्ट्रिय उपाधि चुम्ने माैका गुम्याे

काठमाडौं– थाइल्यान्ड टी–२० स्म्यासको उपाधि आयोजक थाइल्यन्डले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाललाई ७० रनले हराउँदै थाइल्यान्डले उपाधि जितेको हो । 

समूह चरणदेखि अपराजित हुँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपालले फाइनलमा थाइल्यान्डसँगको भेट पक्का गरेको थियो । 

शनिबारको खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १ सय २१ रन बनाएको थियो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले सबै विकेट गुमाउँदा १७.२ ओभरमा ५१ रन मात्रै जोड्न सक्यो । खराब सुरुवातका कारण नेपालले जित निकाल्न सकेन । 

नेपालका लागि ओपनर काजल श्रेष्ठ १ रन मात्रै जोडेर रन आउट भइन् । त्यसलगत्तै, अर्काे ओभरमा इन्दु बर्मा खातै नखोली आउट भइन् । उनी एलबिडब्लु धरापमा परेकी थिइन् । 

त्यसपछि केही सम्हालिएर खेल्ने प्रयास गरेको नेपालले पाँचौ ओभरमा सीता रानामगरलाई गुमायो । १७ बलको सामना गरेकी सीता १ चौकासहित १३ रन बनाएर पभेलिएन फर्किइन् । तेस्रो विकेटको रुपमा सीतालाई गुमाउँदा नेपालको स्कोर कार्डमा १५ रन मात्रै थियो । 

त्यसपछि ब्याटिङमा आएकी रोमा थापा २, सरिता मगर ५ तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट भए । केही सम्हालिएकी नेरी थापा पनि १७ रन बनाएर आउट भइन् । त्यसपछि ब्याटिङमा आएकी करुणा भण्डारीले ४ रन जोडिन् भने डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल ५१ रनमा समेटियो ।



थाइल्यान्डका लागि सुलिपोर्न लाओमीले सर्वाधिक ३ विकेट तथा सोरनारिन टिप्पोचले २ विकेट लिए । 

यसअघि, थाइल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर नट्टाकन चान्थम र नरुमल चाइवाईले पहिलो विकेटको लागि ९३ रनको साझेदारी गरे । नेपालले १७औँ ओभरमा पहिलो विकेट हात पार्यो । १ विकेट मात्रै गुमाएको थाइल्यान्डले पूरै २० ओभर खेल्दै १ सय २१ रन बनाएको थियो । 



थाइल्यान्डका लागि नट्टाकन चान्थमले ६९ बलमा ४ चौकासहित अविजित ६९ रन बनाइन् । यस्तै, चनिडा सुत्थिरुआंगाले ११ बलमा १ चौकासहित अविजित १९ रन बनाइन् । रन आउटको रुपमा १ विकेट गुमाएको थाइल्यान्डसामु नेपाली बलर निरीह बने । 

यो हारसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो उपाधि चुम्नबाट नेपाल वञ्चित भएको छ । सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एसिसी वुमेन्स च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । त्यसपछि, नेपाल फाइन पुगेको यो पहिलोपटक हो ।

  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १७:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया