आकाशे पानी नपरेपछि बाँकेमा धान रोपेको खेत सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसान ढलको पानी सिँचाइ गरेर धान रोप्न बाध्य भएका हुन् ।
बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । किसानले यो वर्ष रसायनिक मल नपाएको गुनासो गरिरहेका बेला आकाशे पानी नपरेपछि रोपेको केही धान पनि सुक्न थालेको छ ।
असार महिनाभर धान रोप्नेगरि वर्षात नभएपछि ब्याडमा रहेका धानको बीउदेखि जेनतेन गरी रोपेको धान पनि सुक्न थालेका छन् । धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेका छन् ।
गत वर्ष यही समयमा झन्डै ९० प्रतिशत धान रोपाइँ भएको बाँके जिल्लामा यस वर्षको असार महिनाको अन्त्यसम्म आइपुग्दा पनि पानी नपरेका कारण बाँकेका आठवटै पालिकामा ४० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराई बताए ।
उनले असार १५ ताका परेको पानीले रोपेको धान पनि सुकेको बताए । उनले आकाशबाट पानी नपरेका कारण खोला नालामा पनि पानी सुक्दै गएकाले धान रोपाइँ गर्न समस्या भएको बताए ।
जानकी ३ बाँकेका किसान बिर्जा प्रसाद जरवटले रोपेको धान पनि पानी नपरेका कारण खेतमा सुक्दै गएको बताए । उनले समयमा मलखाद पनि नपाएको गुणासो सुनाउँदै सिंचाईको कनैुपनि प्रवन्ध नभएकाले सरकारले किसानका लागि सिंचाईको सुविधा नदिएको बताए ।
आफ्नो गाउँघरमा पानीका लागि कुनै सुविधा नभएकाले पम्पिङ सेटबाट नालाको पानीले सिँचाइ गरी रोपेको धान पनि सुक्न थालेको र जमिन पनि फुट्न थालेको जानकी ३ बाँकेका किसान दीलिपकुमार जरवटले बताए । उनले नेताहरू भोट माग्नेबेला किसानलाई आश्वासन दिने गरे पनि जितिसकेपछि फर्केर नहेर्ने गरेको गुनासो गरे ।
पानी नपरेर सुख्खा लागेकाले धान रोपाइँ हुन नसकेको भन्दै सिँचाइको सुविधा गरिदिन जानकी ३ बाँकेका किसानले आग्रह गरेका छन् । राप्ती नदी, खोलानाला र सिक्टा सिँचाइको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपाइँ भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।