नेपाली छड पहिलो पटक भारत निर्यात

सिमेन्टपछि नेपालबाट पहिलो पटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देही स्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि  निकासी भएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ता चप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइए सँगै पहिलो पटक श्री स्टिलले डन्डी निकासी गरेको हो । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।

श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलो पटक छड निकासी गरेको बताए ।

‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उनले भने । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।

‘झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामी बाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन् । नेपालको लागि गौरवको काम हो, सरकारले चाँडै कार्यविधि बनाउनुपर्छ,’ अग्रवालले भने, ‘रुपन्देहीको रोहिणी गाउँपालिका-३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।’ 

कम्पनीले नेपालमै पहिलो पटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्। 



प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापनिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।

बलियो र गुणस्तर निर्माणसँगै  सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ ।



पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको ब्रान्ड म्यानेजर दीपक शाहले बताए । ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता,’ उनले भने ।  

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १२:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया