राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खनन् गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गरेकी छन् । उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।
उनले भनिन्,‘कर्णाली प्रदेशको पेट्रोल उत्खन्नको काम कति भएको छ । सोको जानकारी सम्बन्धित मन्त्रालयले जानकारी दिनु आग्रह गर्दछु र उक्त कामलाई सरकारले प्राथमितामा राख्न आग्रह गर्दछु ।’
सांसद नरबहादुर विष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै विरोध गरेका छन् । उनले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरूलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चितता गर्नुपर्ने बताए ।
उनले भने,‘ काठमाडौं महानगर पालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ । त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सडक पेटीमा व्यापार गर्ने व्यापारीहरूलाई पनि करको दायरामा ल्याएर उनीहरूलाई रोजीरोटीको सुनिश्चितता गर्न सरकारलाई आग्रह गर्छु ।’
त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताउनु भयो । उहाँले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताए ।
उनले भने, ‘अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ । बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ । हिसाब गर्नेहरूले कस्तो किसिमको लेखा प्रणाली अगाडी बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ । बेरुजु स्थानीय,प्रदेश र संघीय सबै सरकारको उस्तै छ । बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ ।
सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताए । उनले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताए ।
उनले भने,‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ । मलाई लाग्छ आज घर घरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ । गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति को हो हामी जान्न चाहन्छौँ । नेपाली जनता जान्न चाहन्छन् । नेकपा एमालेले जानकारी दिनुपर्छ ।’
सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।