नागरिकता विधेयक : फास्ट ट्र्याकबाट पारित गर्ने तयारी

सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ ।

सामान्यतया विधायकहरूमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । तर, हाउसले दफावार छलफल हाउसमै गर्ने वा विषयगत समितिमा पठाउने भनी निर्णय गर्ने अधिकार राख्दछ । संसद सचिवालयका अधिकारीहरूका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ ।

तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन चाहेको छ । सरकारको यही चाहनाअनुसार सभामुखले पनि सम्भावित कार्यसूचीमा राखेका छन् । थप निर्णय प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले गर्नेछ । 

सम्भावित कार्यसूचीअनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ११:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया