कति खतरनाक छन् काठमाडौंका सडक ?!
जिम्मेवारीअनुसार अधिकार पाएनौँ : ट्राफिक प्रहरी प्रवक्ता

घटना १

मिति : २०७४ माघ १६ गते । स्थान : काठमाडौंको गोकर्ण । ४५ वर्षीय नरबहादुर नगरकोटी सडकपेटीमा हिँड्दै थिए । काम सकेर घर फर्कंदै गरेका नगरकोटी घर पुग्नै पाएनन् । बा ३ ख ८५२१ नम्बरको ट्रकले राती ८ बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भए । उपचारका लागि ओम अस्पताल त पुर्याइयो तर चिकित्सकले उनलाई बचाउन सकेनन् ।

घटना २

मिति : २०७५ साउन २६ गते । स्थान : भक्तपुरको सल्लाघारी । राजविराज, सप्तरीका देवेन्द्र सदा राती पैदल हिँडिरहेका थिए । बा ५ ख ५७७८ नम्बरको ट्रिपर पछाडि सर्दै आयो र उनलाई किच्यो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारकै क्रममा निधन भयो ।

घटना ३

मिति : २०७५ कात्तिक ९ गते । स्थान : काठमाडौं, तारकेश्वर नपास्थित लोलाङ हाइट । ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका वृद्ध महिला, युवक र बालकलाई एकैपटक ठक्कर दियो । वृद्ध र युवकको घटनास्थलमै र बालकको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भयो ।



घटना ४

मिति : २०७५ पुस २३ गते । स्थान : काठमाडौंको सामाखुसी चोक । केही मानिस बाटो काट्दै थिए । तीव्र गतिमा आएको बा १ ज ९७६६ नम्बरको माइक्रोबसले पाँचजनालाई ठक्कर दियो । उक्त घटनामा एकको मृत्यु भयो । माइक्रो चालकको बयानमा गति तीव्र भएकाले तत्काल रोक्न नसकेको उल्लेख छ । 



सडक दुर्घटनाका यी केही दृष्टान्त मात्र हुन् । महानगरीय ट्राफिक महाशाखाको आर्थिक वर्ष २०६९/७० देखि ०७५/०७६ (कात्तिक मसान्त) सम्मको विवरणले सडक दुर्घटना हरेक वर्ष वृद्धि भएको र मृत्यु हुने पैदल यात्रुको संख्या बर्सेनि बढिरहेको देखाउँछ ।

काठमाडौं उपत्यकाको पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा १ हजार ४७ जनाको ज्यान सडक दुर्घटनाले लिएको देखिन्छ । तीमध्ये, ४३ प्रतिशत बटुवा छन् । उपत्यकामा मात्रै ४११ जना बटुवाले सडकमा ज्यान गुमाएका छन् । महाशाखाको यो तथ्यांकबाट सडकमा पैदययात्रु कति असुरक्षित छन् भन्ने पुष्टि हुन्छ ।

आर्थिक वर्ष ०६९/७० मा ४ हजार ७ सय ७० सवारी दुर्घटना हुँदा १ सय ४८ जनाले ज्यान गुमाएका थिए । यसमा ६३ जना पैदल यात्रु परेका थिए । ०७०/७१ मा भने ४ हजार  ६ सय ७२ दुर्घटनामा १ सय ४३ जनाको ज्यान गएको थियो । यसमा ५३ जना पैदल यात्रु परे ।

०७१/७२ मा ४ हजार ९ सय ९९ सवारी दुर्घटना हुँदा ५७ जना पैदल यात्रुसहित १ सय ३३ जनाले ज्यान गुमाए । ०७२/७३ मा भएका ५ हजार ६ सय ६८ दुर्घटनामा ६५ जना पैदल यात्रुसहित १ सय ६६ जनाको ज्यान गएको तथ्यांकले देखाउँछ ।

०७३/७४ मा ५ हजार ५ सय ३० सवारी दुर्घटना हुँदा १ सय ८२ जनाको मृत्यु भयो । तीमध्ये पैदल यात्रुको संख्या बढेर ७९ जना पुगेको थियो । ०७४/०७५ मा आइपुग्दा दुर्घटना हुने सवारी संख्या ६ हजार ३ सय ८१ पुग्यो । ती दुर्घटनामा ६३ जना पैदल यात्रुसहित १ सय ९४ जनाको ज्यान गयो । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै २ हजार ६ सय ९४ सवारी दुर्घटना भएका छन् भने ८१ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ३१ जना पैदल यात्रु रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या चार गुणाले ज्यादा छ । विगत सात वर्षको अवधिमा सडक दुर्घटनामा ज्यान गुमाउने १ हजार ४७ जनामध्ये २ सय ५९ जना महिला र ७ सय ८८ पुरुष छन् ।

तथ्यांकअनुसार, १७–३५ वर्ष उमेर समूहका युवाको सडक दुर्घटनामा मृत्युदर उच्च देखिन्छ ।

दुईपांग्रे ज्यादा असुरक्षित 

महाशाखाको रिपोर्टअनुसार, सवारी दुर्घटनाको प्रमुख कारकका रुपमा दुईपांग्रे सवारी साधन देखिएका छन् । त्यसैगरी, सडक दुर्घटनामा मृत्यु हुनेमध्ये पनि दुईपंग्रे सवारी प्रयोगकर्ता धेरै छन् ।

तथ्यांकअनुसार, आर्थिक वर्ष ०६९/७० मा भएको कुल दुर्घटनामा ८ हजार २ सय ९१ सवारी साधन संलग्न छन् । (दुर्घटना संख्या र घटनामा संलग्न सवारी संख्या गरी दुई किसिमका तथ्यांक छन् । जस्तै, एक दुर्घटनामा दुई वा सोभन्दा बढी सवारी पर्न सक्छन्) जसमध्ये, ३ हजार २ सय १८ दुर्घटनामा मोटरसाइकल र स्कुटर मात्रै संलग्न छन् । आर्थिक वर्ष ०७४/७५ मा मात्रै यो तथ्यांक ४ हजार ६५ पुगेको छ । जहाँ, ११ हजार ५ सय ७ सवारी साधन दुर्घटनामा सामेल छन् ।

दुईपांग्रेपछि दुर्घटनामा संलग्नताको हिसाबले साना सवारी साधन (कार, भ्यान र जिप) को संख्या उच्च छ । ०६९/७० मा भएका कुल दुर्घटनामा ८ हजार २ सय ९१ सवारी साधन संलग्न छन् । जसमध्ये, २ हजार ६ सय ५३ दुर्घटनामा साना सवारी संलग्न छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्षसम्म आइपुग्दा यो संख्या १ हजारले वृद्धी भई ३ हजार ८ सय ९० पुगेको छ । यो अवधिमा ११ हजार ५ सय ७ सवारी दुर्घटनामा परेका थिए ।

तथ्यांक हेर्दा सडक दुर्घटनामा मृत्यु हुने र मृत्यु गराउने पक्षमा दुईपांग्रे सवारी साधन अग्रस्थानमा देखिन्छन् ।

चालकको लापरबाही मुख्य कारण 

ट्राफिक महाशाखाको विवरणले हालसम्म भएका सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखाएको छ । आर्थिक वर्ष ०६९/७० मा कुल ४ हजार ७ सय ७० सवारी दुर्घटना हुँदा ३ हजार ७ सय ७० दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए । यो क्रम बढेर ०७४/७५ मा आइपुग्दा ६ हजार ३ सय ८१ सवारी दुर्घटना भएकोमा ५ हजार ९ सय ६१ दुर्घटना चालकको लापरबाहीका कारण भए ।  

त्यसैगरी, सवारी दुर्घटनाको दोस्रो मुख्य कारण तीव्र गति र मापसे सेवन रहेको महाशाखाको विश्लेषण छ । केही समयअघिसम्म उपत्यका तथा सहरी क्षेत्रमा पैदल यात्रुले सडक काट्ने क्रममा सावधानी अपनाउन नसक्दा र चालकको दृष्टि कमजोर हुँदा ज्यान गुमाउन पुग्थे । तर, पछिल्लो समय सडकपेटी नै जोखिम बन्न थालेका छन् । 

एकातिर, सडक विस्तारका नाममा फुटपाथ मासिएका छन् । अर्कोतिर, साँझ र बिहानको व्यवसायले सडकपेटी मिच्दा बटुवा सडकबाटै हिँड्न बाध्य छन् । महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार तीव्र गति, चालकको लापरबाही, बटुवाको असतर्कता र सडकपेटीको अभाव नै पैदल यात्रुले ज्यान गुमाउने मुख्य कारण हुन् ।

उता, व्यवस्थापनको पूर्ण जिम्मेवारी ट्राफिकको हातमा नहुँदा सडक र यातायात व्यवस्थापनमा समस्या आएको सापकोटा बताउँछन् ।

‘स–साना योजना पनि ट्राफिकको हातमा हुँदैन,’ प्रवक्ता सापकोटा भन्छन्, ‘यातायात व्यवस्थाले हामीलाई तीन प्रतिशत मात्रै अधिकार दियो । तर, आदेशअनुसार शतप्रतिशत जिम्मेवारी निभाउन पर्छ ।’

  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १९:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया