चोभारकाे चासाे
[चोभारको चासो–१] सुक्खा बन्दरगाहको शिलान्यासमा राज्य आतंक

काठमाडौं– चोभारमा सुक्खा बन्दरगाह शिलान्यास भएको तीन दिन बित्यो । अझैसम्म पनि चोभारस्थित बन्दरगाह निर्माणस्थलमा सशस्त्र प्रहरीको कडा पहरा जारी छ । स्थानीय बासिन्दा त्रसित छन् । कुनै अपरिचित व्यक्तिले बन्दरगाहका बारेमा सोधे उनीहरु हम्मेसी जवाफ दिँदैनन् । सादा पोसाकका सुरक्षाकर्मी पो हुन् कि भन्ने शंकाले स्थानीय सशंकित हुन्छन् ।

शुक्रबार हामी पुग्दा बन्दरगाह निर्माणस्थलमा प्रहरीको बाक्लो उपस्थिति थियो । बन्द भइसकेको हिमाल सिमेन्ट उद्योग परिसरभित्र बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह शिलान्यास गरेका थिए । शिलान्यासस्थल अवलोकन गर्न हामी भित्र जान चाह्यौँ । गेटमै हामीसँग परिचयपत्र मागियो । 

गेटभित्र पसेर केही पाइला हिँड्नासाथ प्रहरीको अर्को टोलीसँग जम्काभेट भयो । उनीमध्ये एकले भित्र जानुको प्रयोजन सोधे । स्पष्टीकरण दिएपछि मात्र उनीहरुले शिलान्यासस्थल जाने अनुमति दिए । गेटबाट करिब तीन सय मिटरको दुरीमा शिलान्यासस्थल छ ।

बन्दरगाह निर्माणस्थलको पश्चिमपट्टि सडक किनारमा जस्तापाताको बार लगाइएको छ । बारको केही भाग आक्रोशित स्थानीयले भत्काइदिएका छन् । सडकमा गस्ती गरिरहेको सशस्त्र प्रहरीको टोली देख्न सकिन्थ्यो ।

शिलान्यासस्थल खुल्ला जमिनको बिचमा सम्याएर बनाएको देख्न सकिन्थ्यो । फूलमाला, कागजका चियाकप र फूलका गुच्छा यत्रतत्र छरिएका थिए ।



जमिनको एक कुनामा खनिएको खाल्डोमा इँटा बिछ्याएर शिलान्यासको कर्मकाण्ड गरेको दृश्य थियो । निर्माणको काम सुरु हुने कुनै छेकछन्द थिएन, तर सुरक्षा व्यवस्था भने कडा थियो । चोभारमा आखिर के भइरहेको थियो ?



शिलान्यासमा अघोषित कर्फ्यु

शिलान्यासको दिन बन्दरगाह निर्माणस्थल वरपर अघोषित कर्फ्यु लगाइएको थियो । स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको थियो । त्यता पुग्ने गाडीलाई ‘स्लो’ गर्न निषेध थियो । चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनसहित दर्जनौँ स्थानीयलाई बिहानैदेखि प्रहरीले पक्राउ गरेको थियो ।

चोभारका अभियन्ताहरुको फोटोसहितको लिस्ट प्रहरीको हातमा थियो । ज्ञानेन्द्र महर्जन र इन्द्रबहादुर महर्जनलाई घरबाटै पक्राउ गरियो त अरु कैयौँलाई बाटोमा हिँडिरहेका वेला । ठूलो संख्यामा सेना, सशस्त्र, जनपद प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको स्थानीयको दाबी छ ।

स्थानीय राजु महर्जन भन्छन्, ‘बिहीबार बिहानै मलाई पसल बन्द गर्न लगाए । हामीलाई उता (शिलान्यासस्थल) तिर नआउन पनि भनिएको थियो ।’ अर्का स्थानीयवासी गणेश महर्जन बाहिर निस्कन नदिइएकाले आफू घरमै बसेको बताउँछन् । उनी भन्छन्, ‘बिहीबार त जता हेर्यो, उतै पुलिस मात्रै थियो । बाहिर निस्केर हिँड्न पनि दिएको थिएन । सबैजना विरोधमा आउने भएपछि मात्र म पनि गएँ ।’

शिलान्यासको समयमा स्थानीयवासी प्रदर्शनमा उत्रिए । तत्काल स्थानीय अभियन्ता, बुद्धिजीवी, पत्रकारलगायत दर्जनौँलाई प्रहरीले पक्राउ गर्यो । माघ ३ गतेकै मितिमा संरक्षण समितिले सरकारले गरेको दमन र धरपकडप्रति खेद व्यक्त गर्दै विज्ञप्ति जारी गर्यो । शिलान्यासको दिनभन्दा अघिदेखि सुरु भएको प्रहरी परिचालन र धरपकड तथा अघोषित कफ्र्युका कारण चोभार क्षेत्रको जनजीवन त्रसित रहेको जानकारी संयोजक पञ्चलालले दिएका छन् ।

जनप्रतिनिधिको अघोषित बहिस्कार

प्रधानमन्त्री ओलीले बन्दरगाह शिलान्यास गरिरहँदा उक्त कार्यक्रममा जनप्रतिनिधिहरु भने उपस्थित भएनन् । त्यस क्षेत्रका सांसद राजेन्द्र केसी शिलान्यास कार्यक्रममा उपस्थित भएनन् । प्रदेश सांसद पुकार महर्जनले पनि सहभागिता जनाएनन् । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पनि शिलान्यासमा देखा परेनन् ।

चोभारवासीको समर्थनमा पटकपटक विभिन्न निकाय र उद्योग मन्त्री मातृका यादवसँगको छलफलमा समेत सहभागी भएका जनप्रतिनिधिहरुलाई शिलान्यासमा उपस्थित हुने दबाब थियो । तर, विभिन्न बहानामा उनीहरु अनुपस्थित रहेको स्थानीयवासी बताउँछन् ।

यसबारे सोध्न खोज्दा सांसद केसीको फोन उठेन । वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जनले आफू सहभागी नभएकोबारे अहिले केही नबोल्ने बताए । मन्त्री यादवसँगको छलफलमा सहभागी भएकोबारे प्रश्न सुन्नासाथ उनले फोन काटे । त्यसपछि उनले फोन उठाएनन् । मेयर रमेश महर्जनले भने पहिल्यै तय भएको कार्यक्रमका लागि आफू त्यस दिन उपत्यकाबाहिर रहेको जानकारी दिए ।

शिलान्यास कार्यक्रमलाई सहयोग गर्न नगरपालिकालाई पत्र आएको स्वीकार गर्दै मेयर महर्जनले त्यस विषयमा थप केही बताउन चाहेनन् । चोभारमा सुक्खा बन्दरगाह बन्नुपर्छ वा पर्दैन भनेर आफूले कुनै आधिकारिक धारणा नबनाएको बताउने महर्जनले स्थानियवासीको माग भने सम्बोधन हुनुपर्ने धारणा राखे ।

बाक्लो सुरक्षा तैनाथीका बिच प्रधानमन्त्री ओलीले बन्दरगाह त शिलान्यास गरे, तर त्यहाँ एकजना पनि जनप्रतिनिधिको उपस्थिति थिएन । नगरपालिकामा नक्सासमेत पास नगरिकन शिलान्यास गरिएको बन्दरगाहलाई स्थानीय तहले समेत अनुमोदन गरेको छैन ।

अभियन्तालाई खोर

शिलान्यासको दिन पक्राउ गरिएका अधिकांश अभियन्ता तथा स्थानीयवासीलाई प्रहरीले साँझ रिहा गर्यो । तर, समितिका एक सदस्य विष्णु फुँयाल शर्मालाई भने अझैसम्म प्रहरी परिसर, टेकुमा हिरासतमा राखिएको छ । फुँयाललगायत अभियन्तालाई झुठा मुद्दामा फसाउने सरकारी नियत देखिएको संयोजक पञ्चलालको आरोप छ ।

संरक्षण समितिले यसै सन्दर्भमा आइतबार एक बृहत् भेला अयोजना गर्यो । भेलाले फुँयालको विनासर्त रिहाइको माग गरेको छ । साथै, बन्दरगाहका लागि चोभार उपयुक्त नभएको बेहोरासहित चोभारवासीको हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री कार्यालयलगायत सबै निकायमा स्मरणपत्र बुझाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी, समिति सदस्यको रिहाइको माग गर्दै बन्दरगाह निर्माणस्थलको गेटमा स्थानीयले निरन्तर धर्नाकाे कार्यक्रम राखेका छन् । ‘चोभारको पहिचान जोगाऔँ, सुक्खा बन्दरगाह भगाऔँ’, ‘गो ब्याक ड्राइ पोर्ट’ लगायतका नारासहित स्थानीयवासीले बन्दरगाहको विरोध गरिरहेका छन् ।

चाेभारकाे चासाे शृङ्खलाकाे दाेस्राे स्टाेरी:

पटकपटक किन सर्यो शिलान्यास ?

  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार ०:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया