साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै सुखद सुरुवातको लक्ष्यमा नेपाल

साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । खेल भुवनेश्वरको कालिंगा  रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षकले टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन,’  प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर, हामी यहाँ जित्न आएका हौं ।’

त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने उनको भनाइ छ ।

यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर, टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।



प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोबिन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ । 



  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ७:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया