‘बर्बरिक’ अर्थात् मदन भण्डारी

काठमाडाैं– २०४६ साल । पञ्चायती अँध्यारो पन्छाएर सूर्य उदाउने तरखर गर्दै थियो । सूर्य उदाउनुअघि ‘बर्बरिक’ उदाए, नेपाली राजनीतिमा । त्यसअघि बर्बरिक महाभारतको एउटा पात्र थियो । महाभारतको श्लोक कण्ठ पार्नेहरूले सुनेको बर्बरिक नेपाली राजनीतिको खम्बा बन्यो ।

‘बर्बरिक’ अर्थात् मदन भण्डारी ।

तिनै मदन भण्डारी तत्कालीन नेकपा मालेको महासचिव भएदेखि चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको बेलासम्मको कथा झोराहाट नाट्य समूहले नाटकमा रुपान्तरण गरेका छन् । 

यसअघि थिएटरमा कमै मात्र राजनीतिका कथा देख्न पाइन्थ्यो । पछिल्लो समय नाटकघरमा अनुवादित नाटक प्रदर्शनको लहर नै चलेको छ । तर, कुञ्ज नाटकघरमा नेकपाका नेता प्रदिप नेपालले मदन भण्डारीको जीवनकथामा लिखित ‘बर्बरिक’ उपन्यासको नाट्य रुपान्तरण मञ्चन भइरहेको छ । 

० ० ०

‘रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान.........’ पाश्र्व ध्वनी गुञ्जन्छ । मञ्चमा महाधिवेशनको ब्यानर बोेकेका पात्र उपस्थित हुन्छन् । महाधिवेशनले बर्बरिकलाई महासचिव चुन्छ र नाटक अघि बढ्छ ।



पञ्चायतविरुद्ध आन्दोलनको तयारी चलिरहेको छ । तिनताका नेकपा माले कम्युनिस्ट आन्दोलनको शक्तिशाली हिस्सा बनेको छ । बर्बरिक महासचिव चुनिएपछि नेकपा माले अझै शक्तिशाली हुन्छ । निडर र प्रष्ट वक्ताका कारण मदन भण्डारीको चर्चा चुलिन्छ । त्यसले आन्दोलन चर्काउन महत्वपूर्ण भूमिका खेल्छ ।

अर्कोतिर उनी कांग्रेससँग नजिकको सम्बन्ध राख्छन् । कांग्रेससँग उनको उठबस बाक्लै हुन्छ । गणेशमान सिंह विरामी पर्दा भूमिगत जीवनमै उनी सरकारको आँखा छलेर अस्पतालसम्म पुग्छन् । यद्यपि उनी पार्टीको विचार, दृष्टिकोण र सिद्धान्तप्रति भने पहाडझैँ अटल छन् ।



भूमिगत कालमा जनतासँगको सम्बन्ध सुमधुर छ । कतै भिष्म त कतै बर्बरिकका नामले चिनिएका उनी आश्रय लिएका घरका जुठा–भाँडा माझ्नेदेखि खेतबारीको कामसमेत गर्छन् । त्यसकारण पनि नेपालको पूर्व क्षेत्रमा उनी ज्यादा प्रिय बन्छन् । 

एकातिर २०४६ को आन्दोलन चर्किइरहेको छ । अर्कोतिर दुई छोरी र श्रीमतीको चिन्ताले व्याकुल छन् बर्बरिक । यस्तो अवस्थामा उनी श्रीमती भेट्न घर पुग्छन् तर चारैतिरबाट पञ्चायती सरकारको घेरामा पर्छन् । कसरी उम्कने ? बर्बरिकले तत्कालै उपाय निकाल्छन्, प्रसुती व्यथाले छटपटाएकी महिलाको अभिनय गर्छन् । 

यहाँ सिपाही भन्छ– चिच्याउन, कराउन, बोल्न मनाही छ । यो दृश्य नाटकको शक्तिशाली विम्ब हो । जसले भुमिगत कालमा कम्युनिस्ट नेताहरूले कसरी संगठन विस्तार गर्थे साथै सरकारले कसरी दमन गथ्र्यो भन्ने कुराको झल्को दिएको छ ।

कम्युनिस्ट र कांग्रेस मिलेर आन्दोलन चर्काएपछि नेपालमा बहुदलीय व्यवस्थाको उदय हुन्छ । तर, राजनीतिक लडाइ, झगडा साम्य हुँदैन । राजनीतिक दल विशेष गरी कम्युनिस्ट र तत्कालिन राजदरबारबीच नयाँ खालको संघर्षको शुरुवात हुन्छ ।

नाटकमा राजदरबारलाई खलपात्रका रुपमा प्रस्तुत गरिएको छ । ०४७ सालको संविधान जारी भएपछि तत्कालीन मालेले आलोचना गर्याे । उसको असन्तुष्टि राजदरबारको अधिकारबारे थियो ।

०४८ सालको निर्वाचनताका उनले चावहिलमा एक भाषण गरे । त्यो भाषणको चर्चा राजदरबारमा पनि भयो । तत्कालीन राजा वीरेन्द्रबाट दरबारमा बोलावट भयो । बर्बरिकले दरबारमा पनि प्रष्ट कुरा राखे । राजा वीरेन्द्र त प्रभावित भए । तर, रानी ऐश्वर्या र सेनाका जर्नेलको भने मन शान्त भएन । जर्नेल भन्छ – म यसलाई सिध्याइदिन्छु । नाटकका पात्रमार्फ अभिव्यक्त गर्न खोजिएको छ ।

त्यसको दुई वर्षपछि २०५० जेठ ३ गते दासढुंगामा बर्बरिकको निधन भयो । तर, कसरी, किन दुर्घटना भयो र मदन भण्डारी दिवंगत भए भन्ने कुरा नाटकले बताउन सकेको छैन् । शंकाको नजर दरबारतिर सोझ्याएर रहस्यमै नाटक अन्त्य गरिएको छ ।

०००

नाटकले बर्बरिकको भूमिगत जीवनका केही स्मरणीय घटनालाई देखाउन प्रयास गरेको छ । तर, उनी चर्चित भएको भूमिगत संघर्षले होइन । चर्को भाषणशैली, जनपक्षीय व्यवहार र चिन्तन शैलीले हो । यो कुरामा भने नाटक पछि परेको छ । उसले मदनको वैचारिक संघर्षको पाटोलाई छुनै सकेको छैन । 

विषयवस्तु र प्रकाश संयोजनबीच तालमेल नमिल्दा नाटक केही खल्लो महसुस हुन्छ । त्यस्तै मञ्चको साजसज्जामा पनि त्यति ध्यान दिइएको पाइदैँन । फरक फरक दृष्यमा एउटै मञ्च सान्दर्भिक छैन । यद्यपी नाटकका यस्ता त्रुटीहरुलाई नाटकीय ढंगले सुल्झाउन पात्रहरु सक्षम बन्छन् । ध्वनी संयोजन र नाट्यशैलीमा भने खोट लगाउने ठाउँ भेटिदैँन ।

० ० ०

नाटक समापन पश्चात पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनाल, पूर्वमन्त्री शान्ता मानवी लगायतका दर्शक बाहिर निस्कन्छन् । मञ्च बाहिर निस्किनासाथ अर्को दृष्यसँग भेट हुन्छ । 

झोराहाट समूहका कलाकारले दिवंगत नेताद्धय मदन भण्डारी र जीवराज आश्रितको सांकेतिक शव अगाडि राखेर नेकपा नेताहरुलाई ठूलो स्वरमा प्रश्न गर्छन् ‘यी दुईको हत्यारा कहिले पत्ता लाग्छन् ?’

दुईतिहाइ जनमतको नेतृत्व गरिरहेको पार्टीका नेता खनाल एकछिन अवाक् हुन्छन् । भण्डारीको हत्यारा पत्ता लगाउने प्रश्नलाई विषयान्तर गर्दै उनले दुखद् घटनाप्रति निराश नहुन आग्रह गर्छन् । र विम्बात्मक जवाफ दिन्छन् ‘देशैभर कैयौं बर्बरिक जन्मिएका छन् । देशै बर्बरिकमय भएको छ । दुःख मान्नुपर्ने अवस्था छैन ।’


 

  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १२:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया