अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमतीमा सप्ताहव्यापी कार्यक्रम गरिने

प्रदेश युवा परिषद् बागमती प्रदेशले अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोमबार  हेटौँडामा बसेको बैठकले दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाउने निर्णय​ गरेको हो । 

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा ‘अन्तरपुस्ता ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अन्तर्क्रिया कार्यक्रम गरेर मनाइने भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस मूल समारोह तयारी बैठकले विभिन्न निर्णय गरेको छ । विगतका वर्षमा जस्तै यही साउन २७ गतेका दिन युवाका क्षेत्रमा कार्यरत व्यक्ति, संस्था र सम्पूर्ण सरोकारवालाको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ मनाउने तयारीका लागि बैठक गरिएको हो ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं प्रदेश युवा परिषद्का अध्यक्ष रत्नप्रसाद ढ़कालको अध्यक्षतामा बसेको बैठकले युवा दिवस मनाउनका लागि १०१ सदस्य मूल समारोह समिति गठन समेत गरेको छ । बैठकले सप्ताहव्यापी रुपमा यो दिवस मनाउने निर्णय गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । 

कार्यक्रमको शुभारम्भ २४ गते गरिने बताइएको छ । २४ गते वृक्षारोपण, २५ गते रक्तदान कार्यक्रम, २६ गते खुल्ला साइक्लिङ, २७ गते प्रभातफेरी कार्यक्रम, २८ गते पदयात्रा, २९ गते सरसफाइ कार्यक्रम र ३० गते अन्तर्क्रिया कार्यक्रम गरी कार्यक्रमको समापन गरिने उपाध्यक्ष चौलागाईंले बताए ।

मन्त्री ढकालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा प्रदेश युवा परिषद्का पदाधिकारी तथा सदस्य, जिल्ला युवा समितिका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । 



कार्यक्रममा बोल्दै मन्त्री ढकालले आमयुवाको बीचमा प्रदेश सरकारले यो कार्यक्रम गर्न लागेको बताए । युवाहरुकै मन्त्रालय भएकाले यसमा आगामी दिनमा सबैले घच्घच्याउनुपर्ने उनले बताए ।



  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १८:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया