जनार्दनमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित, अर्को बैठक आज नै बस्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक स्थगित भएको छ । समितिको अर्को बैठक आज बेलुकी चार बजे फेरि बस्ने जनाइएको छ । 

‘केही विषय प्राविधिक भएकोले फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनुपर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौँ ।’  

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान सिंहदरबारमा समितिको बैठक राखिएको थियो । 

‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौँ र हेर्यौँ । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विश्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने । आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए । 

केही दिनअघि समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । ‘बैठकमा उहाँहरूले प्राविधिक कुराहरू जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निष्कर्षमा पुग्छौं,’ अर्यालले भने । 

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनाधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो । 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ११:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया