नेवि संघ अधिवेशनमा कांग्रेस नेताबीच कुटाकुट

ओखलढुंगा– नेवि संघ जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट भएको छ । 

आज बिहान ११ बजे नेवि संघको १२औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र विद्यार्थी नेता कार्यक्रमस्थल पुगेका थिए । तर, अधिवेशन सुरु हुनुअघि कार्यक्रममा आशन र भाषण क–कसलाई दिने भन्नेमा विवाद भयो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका वेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आशनग्रहण नगराउने अडान लियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान दबाब दियो । 

विवादकै बीच नेवि संघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम स्रु गर्न निर्देशन दिए । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम सुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाए । 

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारिस गरेको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन । 

नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भयो । ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता–कार्यकर्ता कुटिए । कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेवि संघ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का हान्दा उनको चस्मा फुट्यो । 



यता, नेत्री गोमा केसीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरी गुहारिन् । कार्यक्रमस्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता, कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो । 

कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । केन्द्रीय प्रतिनिधि र असन्तुष्ट पक्षको बहिस्कारकाबीच नेवि संघ जिल्ला अधिवेशन जारी छ । 



  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार २०:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया