चर्चामा ‘कृष्ण–लीला’को ए मेरो हजुर, टिकटकमा करोडभन्दा बढी भ्युज

भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनिकसँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समावेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भइदियोस्..’ गीत अत्यधिक सफल हुँदै गर्दा निर्माण युनिटले अर्काे गीत सार्वजनिक गर्यो– ‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतीक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ ।

रवि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनिक भएको गीतको ‘अटल वाचा गरेँ..’, ‘अघाउँदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानिसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणले समेत अधिक मात्रामा टिकटक बनाएका छन् । 

अहिलेसम्म ती बोलमा चार लाखभन्दा बढी टिकटक बनिसकेका छन् भने एक करोडभन्दा बढी भ्युज भइसकेको छ । गीतले टिकटकमा मात्रै होइन, युट्युबमा समेत दर्शकश्रोताको मन जितिरहेको छ । युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको गीत अहिलेसम्म सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । 

बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो । यो गीतमा एक दिनमा चालिस हजार वटासम्म टिकटक बनेको जानकारी कोरियोग्राफर माइकलले दिएका छन् ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं मुख्य भूमिकामा छन् । 

कृष्ण जन्माष्टमीको दिनमा प्रदर्शन हुने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदीले लेखेको फिल्म पाँचथर, इलाम, झापाका रमणीय स्थलमा छायांकन गरिएको हो । 



शिव ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण पनि निर्माण ब्यानर आरआर फिल्म्स्ले गर्दै छ ।

 



  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार २०:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया