बंगलादेशको भण्डार ६ महिनामा खाली हुन सक्ने, आईएमएफसँग माग्यो ऋण

बंगलादेशमा आठ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ । घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा संकट र आपूर्ति शृङ्खलामा अवरोधका कारण थप सहयोग आवश्यक रहेको उक्त बैठकमा जनाइएको छ । 

बंगलादेशको समाचार वेबसाइट डेली स्टारको रिपोर्टअनुसार त्यहाँको सरकारले घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ अर्ब ५० करोड डलर ऋण मागेको छ ।

डी–८ को ब्यानरमा इजिप्ट, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान, टर्की र बंगलादेशका प्रतिनिधिले मंगलबार वैकल्पिक वित्तीय व्यापारको बारेमा छलफल गरेका हुन् । छलफलमा विदेशी मुद्रा सञ्चितिको दबाबबाट मुक्ति पाउन एक अर्काको मुद्रामा हुने कारोबारमाथि पनि विचार विमर्श गरिएको थियो ।

अङ्ग्रेजी पत्रिका द हिन्दूले समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै यो समाचारलाई प्रमुख स्थान दिएको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले डी–८ देशको अर्थतन्त्र ५ ट्रिलियन डलर रहेको बताए । 

उनले डी–८ देशहरु स्वतन्त्र व्यापार सम्झौता र आपसी व्यापार बढाउन काम गरिरहेको बताए । यस बैठकमा सहभागी सदस्य राष्ट्रले ऊर्जा सुरक्षाका विषयमा विश्वका शीर्ष तेल उत्पादक मुलुक इरान र नाइजेरियासँग वार्ता गरिरहेको आयोजकले बताएको छ ।

डलरको कमी 



डी–८ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख फजल फहिमले भने, ‘कोविड महामारी र अन्य प्रमुख विश्वव्यापी आर्थिक अवस्थाका कारण सबै सदस्य राष्ट्रहरूले विदेशी विनिमय सञ्चितिमा कमी र कमजोर मुद्राको समस्या सामना गरिरहेका छन् । आपूर्ति श्रृंखला अवरुद्ध छ, मुद्रास्फिति बढेको छ र ऊर्जासँगै खाद्य सुरक्षा खतरामा छ । यसका लागि हामीले सावधानी अपनाउन जरुरी छ ।’

बंगलादेशको जनसंख्या १६ करोड छ र यो विश्वको ४१ औं सबैभन्दा ठूलो अर्थतन्त्र हो । बंगलादेशले आफ्नो तेल आयात बिल घटाउन डिजेलबाट चल्ने आफ्नो पावर प्लान्ट बन्द गरेको छ । 



यसबाहेक बंगलादेशको केन्द्रीय बैंकले पनि डलरको भाउ कम भएकाले विलासिताका सामानको आयात घटाउने निर्णय गरेको छ ।
बंगलादेशको समाचार वेबसाइट द डेली स्टारको रिपोर्ट अनुसार अर्थमन्त्री एएचएम मुस्तफा कमलले आईएमएफमा ४.५ अर्ब डलर ऋणका लागि औपचारिक निवेदन दिएका छन् ।

डेली स्टारको रिपोर्ट अनुसार बंगलादेशका अर्थमन्त्रीले जलवायु परिवर्तनका कारण आएको परिवर्तनको सामना गर्दै भुक्तानी सन्तुलनका लागि सहयोग मागेका छन् । आईएमएफमा गएपछि बंगलादेश पनि आर्थिक संकट झेलिरहेका देशको सूचीमा परेको स्पष्ट भएको छ ।

बढ्दो आयात कम हुँदै गएको निर्यात

यस महिनाको सुरुवातमा आईएमएफले पाकिस्तानलाई ४ अर्ब डलर ऋण दिने सहमति गरेको थियो । यसबाहेक तान्जानियालाई १.०५ अर्ब डलर, घानालाई १.५ अर्ब डलर ऋण दिने सहमति भएको छ । 

बंगलादेशको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार गत वर्ष जुलाई र यस वर्षको मे बीचको आयात ८१.५ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।

जसका कारण बंगलादेशी सामान अन्य देशमा बेचेर प्राप्त हुने रकम र बंगलादेशले अन्य देशबाट खरिद गरेको सामानमा खर्च हुने रकमबीचको अन्तर फराकिलो भएको छ । 

यसलाई चालू खाता घाटा भनिन्छ । आर्थिक वर्ष २०२१–२२ को पहिलो ११ महिनामा बंगलादेशको चालू खाता घाटा छ गुणाबाट बढेर १७.२ बिलियन डलर पुगेको छ ।

वैदेशिक रोजगारीमा रहेका बंगलादेशीबाट आउने आम्दानीमा आएको कमी र निर्यात घट्दै गएका कारण यहाँको विदेशी मुद्रा सञ्चिति खाली हुँदै गएको छ । 

गत वर्षको सोही समयमा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४५ अर्ब डलर थियो, जुन अहिले जुलाई २० सम्ममा ३९ अर्ब डलर पुगेको छ । (अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा तयार पारिएको)

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १३:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया