सरकारी स्वामित्वमा रहेको कारखानाको कन्तबिजोग

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयभन्दा केही दूरीमा दुग्ध विकास संस्थान मातहतमा रहेको डिडिसी पशु आहारा उत्पादन केन्द्र रहेको छ । २०२८ सालमा निर्माण भएको भवनमा सोही समयदेखि नेपाल सरकारले ५ तारा मार्का दानानामको पशु दाना उत्पादन गर्दै आइरहेको थियो ।

विसं. २०२८/०२९ देखि सञ्चालनमा रहको पशु दाना कारखाना २०७० सालसम्म चल्यो । त्यसपछि बन्द भयो । ५ तारा मार्का दानाको नामले चलेको कारखाना बन्द भएपछि सरकारले नै दुग्ध विकास संस्थानको मातहतमा रहेर डिडिसी पशु आहारा उत्पादन कारखाना खोल्न २५ वर्षे लिजमा दिएको थियो । डिडिसीले पशु आहारा उत्पादन गर्न थालेको झण्डै ९ वर्ष लागेको छ । सुरुवाती २ वर्षसम्म मेसिनको मर्मत तथा जडानमा समय बितेको डिडिसी पशु उत्पादन काराखानाले जनाएको छ ।

हेटौँडा १० सिसौघारी भन्ने स्थानमा रहेको उक्त दाना उत्पादन केन्द्रले डिडिसीको केन्द्रीय कार्यालय मातहतमा रहेर २०७२ सालदेखि पशु दाना उत्पादन गर्दै आइरहेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर सञ्चालनमा रहेको पशु आहार उत्पादन कारखानाको भवन भने हेर्दै टिठ लाग्दा देखिन्छन् ।

हाल डिडिसी पशु आहारा उत्पादन कारखाना बनाएर पशु आहारा उत्पादन भइरहेको छ । तर पुरानो भवन, चर्किएका गारो, खुइलिएको रंग र जंगलको बीचमा रहेको खुल्ला ठाउँ हेर्दा अहिले पनि त्यहाँ कारखाना सञ्चालना छ र भन्ने प्रश्न उब्जाउँछ । ससाना र पुराना घर, फुटेका झ्याल ढोका र पिंढीसम्मै पलाएका घाँसले सरकारी स्वामित्वमा रहेको कारखानाको दयनीय दृष्य देखाउँछ ।



२०२८ सालतिर निर्माण भएको पुराना भवनमा बसेर काम गर्न जोखिम रहेको उक्त कार्यालयमा कार्यरत कर्मचारी बताउँछन् । कारखानामा नै क्वाटरमा बस्ने एक कर्मचारीले सरकारी कारखानामा सुविधा हुनपर्ने ठाउँमा त्यस्तो नभएको बताए । उनले भने, ‘पुराना घरहरू छन् । जंगल र झाडी छ । बर्खाको समयमा सर्पले टोक्ला भन्ने पनि उत्तिकै डर छ । भित्तामा टाँसिएर बस्दा पनि कपडा नै फोहोर होला झैँ छ । यसको पुनर्निर्माण हुन जरुरी छ ।

वरिपरि घारी र जंगलले ढाकिएको जीर्ण भवनको पुनर्निर्माण गर्न आवश्यक रहेको कार्यालयका सूचना अधिकारी कृष्ण कुमार श्रेष्ठ पनि बताउँछन् । सम्पूर्ण क्षेत्र डिडिसिकै भएको र अब निर्माणका काम गरिने उनले बताए । २०७२ सालदेखि कारखाना सञ्चालनमा आए पनि जीर्ण भवनको समस्याकै कारण उत्पादन गरिने ठाउँको मर्मतलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको श्रेष्ठको भनाइ छ ।



कारखानामा आहारा उत्पादन गर्दै आइरहेको डिडिसीको प्रशासनिक भवनदेखि कर्मचारी बस्ने क्वाटरसम्मका भवन जीर्ण रहेको स्वीकार गर्दै सूचना अधिकारी श्रेष्ठले भने, पुनर्निर्माण पनि हामीले नै गर्नुपर्थ्यो । अघिल्लो साल कारखाना रहेको भवनको पुनर्निर्माण गरेका थियौं ।

उनका अनुसार सरकारी स्वामित्वमा रहेको कारखाना भए पनि कम जनशक्तिमा कम क्षमता रहेको मेसिनबाट पशु आहारा उत्पादन भइरहेको छ । भवनदेखि उत्पादन क्षमतासम्म बढाउनको लागि सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए । 'हामी अब सोही कार्यमा ज निधो नै गरिसकेका छौं,' उनले भने । यद्यपि काम गर्नका लागि आर्थिक कम भएको कारणले नै एकैपटक निर्माणको काममा खर्चिन नसकिएको श्रेष्ठको भनाइ छ ।

हाल उक्त कारखाना क्षेत्रमा ६ वटा भवन छन् । प्रशासनिक भवनदेखि क्वाटर सबैको अवस्था उस्तै छ । ६ वटामध्येका तीनवटा भवन पुनर्निर्माण गर्दा पनि नहुने गरी जीर्ण बनिसकेका छन् भने बाँकी तीनवटामा जसोतसो ओत लाग्ने काम भइरहेको पाइन्छ । बाउन्डिङ वालको समेत अभावका कारण कारखानाको सुरक्षामा समेत चुनौती सामना गर्नु परिरहेको कर्मचारी बताउँछन् । सबै कामका लागि आर्थिक अभाव नै रहेको बताइएको छ ।

अघिल्लो आर्थिक वर्षको बजेटमा प्रदेश सरकारसँग योजना बनाएर सहयोगको माग गरेको तर बजेट नछुट्याएकोमा चालू आर्थिक वर्षको लागि भने ५० लाख बजेट परेको कारखानाका सूचना अधिकारी श्रेष्ठ बताउँछन् । सो रकमले ल्याब तथा प्रयोगशाला निर्माणमा खर्च गरिने उनले बताए । विगत ६ वर्षभन्दा लामो समयदेखि सञ्चालनमा रहेको कारखानामा प्रदेश सरकारको ध्यान पनि केन्द्रित नभएको कारण पनि भवन पुनर्निर्माणको काम गर्न नसकिएको बताइएको छ । 

वार्षिक ३६ लाख किलोग्राम पशु आहारा उत्पादनको लक्ष्य राखेको उक्त पशु आहारा कारखानामा गत आर्थिक वर्ष २०७८/०७९ मा ३४ लाख १७ हजार ३ सय २५ किलोग्राम आहारा उत्पादन गरेको छ ।

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २०:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया