बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाइँ, मलको अभाव कायमै

मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।  

जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष यस बेलासम्म ८५ प्रतिशत बढी क्षेत्रफलमा किसानहरूले धान रोपी सकेका ज्ञान केन्द्रले तथ्यांकमा उल्लेख छ ।

मल खाद, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ । नियमित पानी नपरेको कारण धान रोपाइँ गर्न समस्या भएको बारा आदर्श कोटवाल गाउँपालिकाका किसान योगेश न्यौपानेले बताए । अर्कोतर्फ धान रोप्ने बेलामा अत्यावश्यक पर्ने मल खादको चरम अभावले किसानहरू धान रोप्ने नरोप्ने दोमनमा रहेका उनको भनाइ छ । 

जिल्लामा ६५ प्रतिशत धान रोपाइँ भए पनि सोचे अनुरूप मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो । 

फाट्टफुट्टबाहेक वर्षा नहुँदा बारा आदर्श कोटवाल गाउँपालिकाका किसानले रामलाल यादवको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने यादवले गुनासो गरे । उनले वर्षा नहुँदा र मलको समेत अभाव भएका कारण धान सुकेर कामै नलाग्ने हुन लागेको बताए । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ ।  



यता जिल्लामा ६४ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । खेती क्षेत्रफल बढी रहे पनि सरकारले नै आवश्यकताभन्दा कम जिल्लामा मलको कोटा कायम गरेको कारणले किसानहरूलाई आवश्यक अनुसारको मलको आपूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

जिल्लामा आठ हजार मेट्रिक टन डिएपी, ११ हजार मेट्रिक टन युरिया र पाँच सय मेट्रिक टन पोटासको खपत गरिँदै आए पनि सरकारले १२ सय मेट्रिक टन डिएपी, ६ सय मेट्रिक टन युरिया स्थानीय तहमार्फत किसानलाई वितरण गरिएको निर्धारण गरेकोले धान खेतीको लागि मल अभाव भएको हो । 



खपतको आधाभन्दा कम कोटा निर्धारण गरेर मल बिक्री वितरण गर्नको लागि दिएपछि किसानहरू आवश्यकताअनुसार मल पाउन नसकेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले स्वीकारे । बाराको लागि निर्धारण गरिएको कोटा भन्दा निकै कम मल आएकै कारण धान बालीको लागि किसानलाई चाहिने मलको अभाव भएको र अवश्यकता अनुसारको मल उपलब्ध गराई दिनको लागि माथिले निकायमा पहल गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवको भनाइ छ ।

धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको र अत्यधिक गर्मी तथा पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको छ । धान बालीको  लागि चाहिने  आवश्यक मलको समेत समयमै व्यवस्थापन गर्न नसकिँदा किसानहरूले खेतमा रोपाइँ गरेको धानको उत्पादनमा समेत कमी आउने डर रहेको छ ।  

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ११:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया