अधुरै रह्यो रेकर्डिङ स्टुडियो खोल्ने ‘बझाङी काल्या दाइ’ को सपना

‘कर्णालीका भेल कालीको लड्कन्या माछो, मेरा खेल्न्या खेल को आयो बिरानो मान्छे’ यो गीत सुदूर–कर्णालीवासीको मनमनमा छ । वर्षौंअघि बजारमा आएको यो गीतको लोकप्रियता अहिले पनि उत्तिकै छ ।

हरेक देउडा पारखीको मनमा यो गीत जीवित छ । तर, यो सदाबहार देउडा गीतमा आवाज दिने वरिष्ठ देउडा गायक हरिशचन्द्र कडायत भने अब रहेनन् । यही ११ साउनमा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो । उनको निधनले नेपाली लोकदेउडा संगीतले  ठूलो क्षति बेहोरेको छ । 

कडायतको निधनले यतिबेला देउडा पारखी, सहकर्मी र चिनजानका कलाकारले दुःख व्यक्त गरिरहेका छन् ।  ‘​बझाङ्गी काल्या दाइ’ले परिचित कडायतको जन्म २०२६ सालमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ (साविक कडेँल गाविस) मुम्लामा भएको थियो । उनको देउडा यात्रा गोठालो, विद्यालय, मेलापर्व, क्यासेट हुँदै सुरु भयो । कडायतले पहिलो गीतको रूपमा २०४८ मा ‘खेल देउडा बाजुरी चाल’ सार्वजनिक गरे ।

उनी आफैं सर्जक आफैं गायक थिए । उनका गीतमा सुदूरको मौलिकपन र शुद्ध  भाषा पाइन्छ । बझाङको प्रसिद्ध मेला बान्नीकी चैतलीबाट वाहवाही कमाउँदै २०४८ मा रेडियो नेपालको स्टुडियो छिरेका उनका ‘कर्णालीका भेल’, ‘बझाङ्गी दाइ काल्या’, ‘लंकाभरी सुन छ,’ ‘मेल्लेख बान्नी खान’ आदि चर्चित गीत हुन् । उनलाई धेरै देउडा सर्जकहरूले ठाडीभाको ‘सम्राट’ को समेत उपमा दिएका छन् । 

गरिब परिवारमा जन्मिएका कडायत आर्थिक अभावकै कारण विदेशसम्म पुगे । आर्थिक अभावकै कारण नियमित रूपमा कडायतले गीत ल्याउन नसकेको गायिक शोभा थापा बताउँछिन् । ‘उहाँलाई काठमाडौंमा चिया खान, स्टुडियोमा गीत रेकर्ड गर्न र भिडियो सुटिङका लागि सधै आर्थिक अभाव भइरहन्थ्यो । तर, पनि उहाँको जोशजाँगरले आफ्नो काम गरेरै छोड्नुहुन्थ्यो,’ थापाले भनिन् ।

लामो समय विदेशमा बेपत्ता जस्तै भएका गायक कडायत दुई वर्षअघि मात्र नेपाल फर्किएका थिए । त्यसपछि उनले ‘इराकी लाहुरे,’ ‘मेल्लेख डाँडा बान्नी खान’लगायत गीत गाए । त्यसपछि कडायतले ‘लंका भरी सुन छ,’ ‘यो बझाङ्गी काल्या’ पनि क्रमशः बजारमा ल्याए । उमेर ढल्कँदै जाँदा कडायतलाई बझाङका लुकेका थप प्रतिभा बाहिर ल्याउने धोको थियो । त्यही धोको पूरा गर्न उनी काठमाडौं छोडेर बझाङ हानिए । 



सदरमुकाम चैनपुरस्थित सुर्माटोलमा ‘बझाङी दाइ काल्या म्युजिक सेन्टर’ नामक रेकर्डिङ स्टुडियो बनाउने योजना बनाए । तर, उनको धोको पूरा हुन सकेन । रेकर्डिङ स्टुडियो खोल्नुका साथै ‘बझाङ्गी दाइ काल्या भाग–२’ र विभिन्न ठाडी भाका बजार ल्याउने उनका सपना थिए । कडायतले लेखका धेरै गीत अहिले पनि डायरीमा छन् । अब ती गीत अन्य गायकको आवाजमा भए पनि बजारमा ल्याउने कडायतका छोरा कपिलले बताए ।  

म्युजिक सेन्टरको तयारी गर्दागर्दै कडायत १ साउनमा मस्तिष्काघात भएर धनगढीको नवजीवन अस्पताल भर्ना भए । नवजीवनले थप उपचारका लागि ४ साउनमा सेती प्रादेशिक अस्पताल रिफर गर्यो । तर, सेती अस्पतालले पनि उनलाई जोगाउन सकेन । उनी ११ साउन सधैंका लागि अस्ताए । 



पछिल्लो समय कडायत परिवारसँग कैलालीको गौरीगंगा नगरपालिका–६ वनबेहडामा बस्दै आएका थिए । उनका तीन छोरा एक छोरी छन् ।  

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १२:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया