बीमावापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् । 

किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केरा खेतीमा आकर्षित छन् । 

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरबाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढ्न थालेको छ । 

निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बीमा कम्पनीका कर्मचारीहरू होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफू खुसी विवरण तयार गर्ने गरेको खुलेको छ जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन् । 

बारामा कृषि बीमाका लागि राष्ट्रिय बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त बीमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ । 

इन्स्योरेन्सका शाखा प्रबन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ । ‘हामीलाई जानकारी नै नदिई कर्मचारी आफूखुसी हाम्रो खेतबारीको विवरण संकलन गर्न आउने रहेछन्'



 स्थानीय अगुवा किसान गोविन्द खरेलले भने धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगिएको छ उनीहरूले समेत भुक्तानी पाएका छैनन् । 
खरेलका उनका अनुसार कर्मचारीले बीमा गरेका निजगढका करिब २४२ किसान मध्ये ४०/५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक बर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषि बीमाबाट  किसानले राहत महसुस गर्न सकेका छैनन् । 

बीमा कम्पनीको कर्मचारीको लापरबाहीका कारण आफूहरु पीडित हुनु परेको भन्दै किसानले गर्न वर्ष बीमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको बीमा कार्यक्रम राम्रो भए पनि बीमा कम्पनीको कर्मचारी गैर जिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाई छ । 



गत वैशाख १६ गते र त्यस यता वर्षासँगैको हुरीले केराको बोट ढालेर ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिब १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । 

हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा नष्ट गरेको किसानहरूले बताएका छन् । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए । 

निजगढमा केरा खेती गर्ने करिब ७ सय किसानमध्ये थोरैले मात्रै बीमा गरेको र बिमाबापतको रकम दिन समेत इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलाई दुःख दिँदा समस्या बेहोर्नु परेको किसानहरूको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् । 

  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १०:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया