एजेन्सी– भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले बहिनी प्रियंका गान्धी वाड्रालाई पार्टी महासचिवमा नियुक्त गरेका छन् । उनलाई पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ । अहिले उपचारका लागि लन्डनमा गएकी प्रियंका ४७ वर्षकी भइन् ।
यसअघि प्रियंका दाइ राहुल गान्धी र आमा सोनिया गान्धीका लागि निर्वाचनहरुमा प्रचार गर्न खुलेर लाग्थिन् । तर, उनलाई पार्टीको जिम्मेवारी दिइएको यो पहिलो पटक हो । त्यसो त पछिल्ला केही वर्षदेखि कांग्रेस नेताहरुले प्रियंकालाई सक्रिय राजनीतिमा ल्याउन गान्धी परिवारलाई सल्लाह दिँदै आएका थिए ।
प्रियंकासँगै राहुलले ज्योतिरादित्य सिन्धियालाई पनि कांग्रेस महासचिव पनि बनाएका छन् । उनले मध्यप्रदेश विधानसभाबाट निर्वाचन जितेका थिए ।
बहिनीलाई महासचिवमा नियुक्त गरेपछि कंग्रेस अध्यक्ष राहुल गान्धीले आफू खुसी भएको र प्रियंकाबाट आफूले मात्र नभएर कंग्रेसले पनि ठूलो आश गरेको प्रतिक्रिया दिएका छन् । ‘चुनाव लड्ने नलड्ने उनी आफैं डिसाइड गर्नेछिन्,’ राहुलले पत्रकार सम्मेलनमा भने, ‘कर्मठ र सक्षम मेरी बहिनी मसँग काम गर्ने भन्ने कुराले मलाई खुसी दिएको छ ।’
उता, भारतीय जनता पार्टीले भने राहुलले प्रियंकालाई महासचिव बनाउनु आफू फेल भएको प्रमाणित गर्नु हो भन्ने प्रतिक्रिया दिएको छ । भाजपाका प्रवक्ता संबित पात्राले भनेका छन्, ‘यो राज्याभिषेकबाट साबित भएको छ कि कंग्रेस एउटा पारिवारिक पार्टी हो, राहुल गान्धी फेल भएका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।