साक्षात्कारमा योगेशले भने– मन्त्रीलाई रोस्ट्रममा जान नदिए बसेकै ठाउँबाट विधेयक टेबल गराएर पास गर्छौं

काठमाडौं– सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद् बैठकबाट पारित हुने बताएका छन् ।

‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ,’ बुधबार राजधानीमा आयोजित साक्षात्कारमा सांसद भट्टराईले भने, ‘मन्त्रीलाई रोस्ट्रममा जान दिइएन भने मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ ।’ यसको नजिर कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसकेको उनले तर्क गरे ।

‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उनले स्थानीय तहसम्बन्धी विद्येयक पास गर्दा तत्कालीन नेकपा एमालेले संसद् अवरोध गर्यो,’ विद्येयक नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्दै उनले भने, ‘मन्त्रीले रोस्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाईं जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भन्नुभयो । डेलजीले त्यतिवेला मन्त्रीलाई बसेकै ठाउँबाट विद्येयक टेबुल गर्न लगाउनुभयो र पास गर्नुभयो ।’

‘त्यतिवेला विद्येयक पास भैहाल्यो । हामीले विरोध गर्यौं । नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौँ,’ उनले अगाडि भने, ‘अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिस्ट पार्टीले ज्यादती गर्यो भन्नुस्, तर विद्येयक पारित गर्ने कुरालाई रोक्न पाइँदैन ।’

आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको भट्टराईको प्रतिक्रिया रह्यो । ‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन,’ उनले भने, ‘किनभने, उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन् ।’

सोमबार कांग्रेस उपसभापति विजयकुमार गच्छदारले संसद्मा बोलेका कुरामाथि टिप्पणी गर्दै भट्टराईले भने, ‘यो कुरा हामी कांग्रेससँग कुनै दिन सोधौँला, उहाँले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भन्नुभयो, हिजो माओवादी लडाकुहरु नेपाली सेनामा समायोजन भएका छन्, यसलाई फिर्ता लैजाऊ भन्नुभयो । यो निकै गम्भीर कुरा हो ।’



गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिने उनले विश्वास दिलाए । कांग्रेसले संसद् अवरोध गरे पनि, नगरे पनि र कांग्रेसले भने पनि नभने पनि गिरिजा र सुशील कोइरालाका नामका अस्पताल चल्ने उनले बताए ।



  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १८:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया