सरकारलाई नेवि संघकाे प्रश्न– डा. केसीका माग किन नसुनेको, निर्मलाको हत्यारा किन नखोजेको ?

काठमाडौं– सरकारलाई प्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ । ‘कम्युनिस्ट सरकारलाई नेवि संघको प्रश्न’ लेखिएको ठूलो ब्यानरसहित नेवि संघले राजधानीमा प्रर्दशन गरेको हो ।  

‘१६औँ अनशनमा रहेका डा. गोविन्द केसीका माग सुनुवाइ किन नगरेको ?’, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिना पुगिसक्दा पनि अपराधी पत्ता किन नलगाएको ?’ भन्दै नेवि संघले सरकारलाई प्रश्न गरेको छ । 

‘३३ किलो सुन कान्ड कता पुग्यो ?’ भन्दै सरकारलाई प्रश्न गरेको संघले गिरिजा र सुशील कोइरालाको नाममा किन अस्पताल स्थापना गर्न नदिएको ?’ भनेर समेत सोधेको छ ।

सरकारप्रति आक्रोशित देखिएका नेवि संघ उपाध्यक्ष सागर परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली राष्ट्रवादी भएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी प्रधानमन्त्री हुन् ।’ 

ओली अन्तिम कम्युनिस्ट प्रधानमन्त्री हुने दाबी गर्दै नेवि संघले निर्मलाको हत्यारा पत्ता नलगाए सरकारको आयु छोटिने चेतावनी दिएको छ । ‘निर्मलाको हत्यारा खोज्ने काम जति लम्बिँदै जान्छ, त्यति नै सरकारको आयु घट्दै जान्छ,’ उपाध्यक्ष परियारको टिप्पणी छ ।

संघका अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले सरकारविरुद्ध निरन्तर आन्दोलन गर्ने बताए । सरकारले लोकतन्त्रको मान्यता कुल्चिएको आरोप लगाउँदै उनले भने, ‘सरकारले लोकतन्त्र खतरामा पारेको छ । त्यसैले, अब लोकतन्त्र जोगाउन पनि आन्दोलन निरन्तर चलिरहन्छ ।’ 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १९:७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया