संसदमा ओलीप्रति माओवादी सांसद गजेन्द्र महतको व्यंग्य
फाइल तस्वीर

सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए  ।

उनले पूर्वप्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हास्य-व्यङ्ग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।

उनले भने, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ । शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्ने पनि यहीँ लेखौँ, ईश्वर भन्ने भए पनि यही लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’

सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया