नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (विबिसंघ) राख्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गरेका हुन् । उनले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए ।
उनले तालाबन्दी गर्ने मानिस कुनै विद्यार्थी संगठन नभई नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए । सांसद सुनुवारले १३ साउनबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्याइएको बताए ।
उनले भन्नुभयो, ‘यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर विबिसंघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रस्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ’ उनले भने ।
सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए । उनले अहिले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।