गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ उद्योग तथा व्यापारीविरुद्ध मुद्दा दायर
फाइल तस्वीर

सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ ।

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका ११५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६६० वटा नमुना संकलन गरेको थियो । संकलित नमुनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरीत पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको बताएको छ ।

पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना दुषित देखिएको बताए ।

उनले खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दूध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया/कफीका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २२४ वटा नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको बताए ।

उनले दुषित खाद्य पदार्थ बेचेको अभियोगमा ११५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताए । उनले दूध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्दा दायर गरिएको बताए ।



त्यस्तै, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्यूजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ । गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो ।

विभागले तत्काल सम्बोधन टोलीअर्थात र्‍यापिट रेस्पोन्स टिममाफत कारबाही लगायत ८ हजार ८६६ पटक निरीक्षण गरेको थियो । विभागले गत वर्षको अवधिमा ७०३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६३६ वटा होटल रेष्टुरेण्टसमेत अनुगमन गरेको थियो ।



  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १७:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया