कांग्रेसले भारतीय फौज ल्याएर नागरिकको हत्या गरेको ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतदेखि अहिलेसम्म नेपाली कांग्रेसको मति परिवर्तन नभएको बताएका छन् । तुल्सीलाल अमात्यको स्मृति दिवसमा बोल्दै ओलीले २०१० देखि अहिलेसम्म पनि कांग्रेसको मति परिवर्तन नभएको उल्लेख गरे ।

ओलीले नेपाली कांग्रेसले भारतीय फौज ल्याएर जनताका निम्ति काम गर्ने भीमदत्त पन्तजस्ता महान योद्धाको हत्या गरेको आरोप लगाए । कांग्रेसको एकल सरकारले त्यो बेला देशभक्त नागरिकको टाउको काटेर प्रदर्शन गर्ने गरेको उनको आरोप छ ।

'२०१० साल साउन १७ गते नेपाली कांग्रेसको सरकारले नेपाली सुरक्षा निकाय फौज प्रहरी पुगेन भनेर भारतीय फौज ल्याएर देशभक्त र जनताका निमित्त काम गर्ने भीमदत्त पन्तजस्ता जनताका महान योद्धा त्यस्ता व्यक्तिको हत्या गरेको थियो । आज पनि एउटा देशभक्त, शान्तिपूर्ण ढंगले गोलबद्ध गरेर जनताका हक अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही कांग्रेसको विरोध निन्दा गर्छु । त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन गरेको छैन् । विदेशी सेना ल्याएर जनताको पक्षमा लडिरहेको नेपालीलाई मार्न लगाउने, टाउको काटेर, बाँस काटेर त्यसमा झुन्ड्याएर प्रदर्शन गर्ने । यसप्रकारका काम नेपाली कांग्रेसको सरकारले गरेको थियो र नेपाली कांग्रेसको एकल सरकारले गरेको थियो' उनले भने ।

ओलीले जनताले महँगीको कष्ट झेल्नुपरेको बताउँदै एक वर्षदेखि विकास निर्माण ठप्प आरोप लगाए । उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

'जनताले महँगीको कष्ट झेल्नुपरेको छ । जुन रफ्तारमा विकास निर्माण भएको थियो । त्यो एक वर्षदेखि विकास निर्माण ठप्प छ । यो देश ओरालो लाग्नेबाहेक केही हुँदैन् । त्यसो भएर हामी सचेत भएर अगाडि बढ्नुपर्छ' उनले भने ।

उनले यो गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट भएको आरोप लगाउँदै विकास विरोधी गठबन्धनलाई पराजित गर्न सबै एकजुट भएर लाग्नुपर्ने तर्क राखे ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १७:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया