प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र उनका राजनीतिक सल्लाहकार जीवन राई पनि संक्रमित भएका छन् ।
कोरोनाको लक्षण देखिएपछि मुख्यमन्त्री, उनका परिवारका सदस्य, सचिवालय, निवासमा खटिएका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको सोमबार गरिएको पिसिआर परीक्षणमा मुख्यमन्त्री राईसहित तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम स्थगित गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार ३३७ जनाको पिसिआर परीक्षण गर्दा २५ महिला र २९ पुरुषमा संक्रमण देखिएको छ । यस प्रदेशमा हाल ४१२ सक्रिय संक्रमित रहेकामध्ये कोभिड १९ उपचार केन्द्रमा ५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
अस्पतालमा उपचाररतमध्ये ४ जना आइसियूमा र १ जना एचडियूमा र धरानमा १ जनाको आइसियूमा र १ जनाको एचडियू शय्यामा राखेर उपचार भइरहेको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताए ।
प्रदेशका १४ जिल्लामध्ये सबभन्दा बढी मोरङमा १९५, सुनसरीमा ९३, झापामा ७८, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, खोटाङ र पाँचथरमा १–१ जना र प्रदेश बाहिरका २८ जना संक्रमित रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।