पुछारको पातो अर्थात् मोहनराज शर्मा

पुछारको पातो !

पत्रिकाको पछिल्लो पानाको नाम होइन, मान्छेको नाम ।

कुनै पत्रिकाको सबैभन्दा पछिल्लो पानामा लेख्न थालेको केही समयपछि त्यही पानाको नामले नै मान्छेलाई बोलाउँछ भने कस्तो हुँदो हो ? ‘खुसी लाग्छ नि,’ पुछारको पातो भन्छन्, ‘साहित्यमा लागेर पाउने खुसी भनेको आफ्नो पहिचान बनाउन सक्नु हो, मेरो नामै परिवर्तन भएर के भो र ? पहिचान त बन्यो नि ।’

पुछारको पातो अर्थात् मोहनराज शर्मा, उर्फ मोराश ।

हो, समाजमा भएका सानातिना घटना तर मनलाई छुने कुरालाई लेखेर सबैसँग बाँड्न सकूँ भनेर साहित्यमा लागेका मोहनराज शर्मालाई आफूले लेखेको व्यंग्यको आधारमा नै धेरै मानिसले पहिला अर्कै नामले चिने, केही समयपछि मोराश भनेर चिने, अनि आफैं नाम राखिदिए, पुछारको पातो ।

पछि विस्तारै पहिचान बदलिँदै गयो । उनका अव्यक्त भावना पनि बिस्तारै परिमार्जित हुन थाले । उद्देश्यका कथा र विधाका कथा उनले बझ्न थाले । 



उनले साहित्यका विषय बुझ्न थाले, पाठकले उनले लेखेका कुरा ।

अभिव्यक्तिको छटपटी भएपछि के गर्ने भनेर लेख्न थालेका मोहनराज शर्माले केही समयपछि आफ्नो नाम छोट्याएर मोराश मात्र लेखेनन्, साहित्यका भित्री रसका स्वाद पनि लिए । त्योसँगै उनको साहित्य प्रति जिम्मेवारी पनि थपिँदै गयो । ‘साहित्यको मर्म बुझ्न थालेपछि अझ संवेदनशील र गहन बन्न थाले,’ उनी भन्छन् ।



मोराशलाई कुनै पनि विधा सहज लाग्दैनन् । तर, सहज बनाउने सूत्र भने उनीसँग छन् । त्यसैले त उनले कथा, उपन्यास, निबन्ध, हास्यव्यंग्य, कविता तथा अन्य विधामा पनि कलम चलाएका छन् । उनी नाटकमा अभिनय गर्न सकिने, नक्कल गर्न सकिने अनुमान गर्छन्, कथा उपन्यासमा कथानक जोड्न थाल्छन् । उनी कवितामा भाव जोडिदिन्छन् ।

यी सब कुरा मोहनराज शर्माले धेरै पछि मात्र थाहा पाएका हुन् । उनलाई पहिले लेख्न जे मन लाग्थ्यो, लेखिदिन्थे । मानिसहरू त्यसलाई मन पराउँथे ।

तर, अहिले समय बदलिएको छ ।

कीर्तिपुरको संगमबस्तीको एउटा कुनोको घरका भित्तामा चारथरी तस्बिर झुन्डिइसकेका छन् । उनकै शब्दमा सानो हुँदाको, युवा हुँदाको, कपाल फुले पनि ह्यान्डसम नै देखिने बेलाको र अहिलेको । 

कथामा बढी ध्यान दिएका शर्मालाई ती तस्बिरहरूसँग कुनै गुनासो छैन । समयक्रममा विभिन्न कुरा परिवर्तन हुँदै गए, उनका कुरा पनि परिवर्तन भइरहेका छन् । रूपको मात्र के कुरा, उनको भित्री मन पनि धेरै परिवर्तन भइसकेको छ ।

कस्तो परिवर्तन ?

‘साहित्यप्रतिको सोच तथा लेखन,’ उनी भन्छन्, ‘आफूले सन्तुष्ट हुने गरी लेख्न पाएकोमा मेरो मन परिवर्तन भएको छ ।’

लेखन पक्रियामा पनि परिवर्तन । उनी आन्तरिक रचना प्रक्रिया र बाह्य लेखन प्रक्रियालाई बढो मीठोसँग केही समयमा नै लेख्न सक्ने भइसकेका थिए । त्यसले पनि सन्तुष्टि दिएको हुन्थ्यो । 

तर, कहिलेकाहीँ त आफूले लेखेका रचना केही दिनपछि पढ्दा आफैंलाई नराम्रा लाग्थे । त्यसले झनै नरमाइलो बनाउँथ्यो । तर, बिस्तारै उनमा खुसी पलाउन थाल्यो, आफ्नो लेखनमा आफैंलाई सन्तुष्टि हुन थाल्यो । 

उनलाई त्यो खुसी र सन्तुष्टि उनलाई मन पर्ने विधा कथाले दिएको हो ।

शर्मालाई निबन्ध मन पर्दैन । पाठकलाई बारम्बार एउटा शीर्षकमा वा एउटै वस्तुमा आफ्ना कुरा लादेको उनलाई मन पर्दैन ।

‘त्योभन्दा कथा त उन्मुक्त भएर लेख्न पाइने,’ उनी भन्छन्, ‘आख्यानमा, उपन्यासमा, लघुकथामा त्यस्तो एउटै विषयलाई घरीघरी भनिरहनु पर्दैन, उपकथा जोडेर रोचक बनाउन पाइन्छ ।’

शर्मालाई तुलना नै गर्ने हो भने कविता विधा त्यति मन पर्दैन । नियम छ कविता लेखनमा । कविता लेख्न पनि एउटा नियममा बस्नुपर्छ ।

‘कथामा अहिलेसम्म कसैले नियम नै बनाएको छैन,’ उनी थप्छन्, ‘कथामा उन्मुक्त भएर आनन्दले आफ्ना परिवेशलाई अझ रोचक बनाउन पाइन्छ ।’

शर्मालाई नाटक पनि त्यति मन पर्ने होइन । कस्तो झन्झटिलो, ठ्याक्कै अभिनयमा उतार्न सक्ने बनाउनैपर्ने ।

‘कथामा त्यस्तो कहाँ पर्छ र ?’ उनी भन्छन्, ‘मलाई कथा, आख्यान वा उपन्यास नै सबैभन्दा मन पर्ने विधा हुन् ।’

अनि हास्यव्यंग्य ?

कुरा गर्नुपर्ने थियो, हास्यव्यंग्यको । तर, त्यता जानै मानेनन् शर्मा । 


केही समय कुरा गरिसकेपछि बल्ल थाहा भयो, शर्मालाई त हास्यव्यंग्य कुनै विधा नै होइन जस्तो लाग्दो रहेछ ।

शर्मालाई हास्य छुट्टै, व्यंग्य छुट्टै प्रसंगमा प्रयोग हुने र जुन विधामा पनि उत्तिकै प्रयोग गर्न सकिने भएकाले शर्मालाई यो छुट्टै विधा हो भन्ने नलागेको रहेछ ।

यो प्रमाणित गर्न उनीसँग थुप्रै उदाहरण छन् । 

जस्तो, हास्यव्यंग्य प्यासेन्जर हो । अरू सबै विधा सवारीसाधन ।

हामी एक ठाउँबाट अर्को ठाउँमा जाँदा कहिले गाडी चढ्छौं, कहिले ट्याम्पो, कहिले मोटरसाइकल, कहिले ट्याक्सी । हामी यात्रु हौं, अरू सवारीसाधन ।

शर्मा भन्छन्, ‘त्यस्तै हास्यव्यंग्य कहिले कथामा आउँछ, कहिले निबन्धमा आउँछ, कहिले अन्य विभिन्न विधामा । अरू विधा सवारीजस्तै हुन्, हास्यव्यंग्य यात्रु ।’

हास्यव्यंग्यलाई उनी साहित्यिक प्रभाव (इम्प्रेसन) हो भन्छन् । उनी हास्य अरूको उपहास गरेर उत्पन्न गर्ने र व्यंग्य गहन रूपमा गएर परिवर्तनका लागि कसैलाई सचेत गराउने विषय हो भन्छन् । त्यसैले उनले जसरी मान्छेका अवस्थालाई हास्यजनक बनाउन प्रयोग हुने साहित्यिक छाप छन्, ती सबै हास्यव्यंग्यका तौरतरिका हुन् भन्छन् । तर, कसरी र कति हसाउने भन्नेमा क्षमताको आवश्यकता पर्छ ।

हाँसेर मनोरन्जन गरेर मनका विकृति हटाउन र घोेचेर कटाक्षको छाप छोड्दा त्यो व्यंग्य हुने उनलाई लाग्छ ।

शर्माले हास्यव्यंग्य लेख्न थालेको धेरै अघिदेखि हो । बनारसमा हुर्केका, पढेका शर्माले झापामा प्रकाशित एउटा मासिक पत्रिकामा पुछारको पानामा हास्यव्यंग्य लेख्थे ।

तर, किन हास्यव्यंग्यमा लागे त शर्मा ?

‘अरू गहन लेख, कविता अरूले लेख्थे, कार्यक्रममा सुनाउन जादाँ सबै त्यस्तै लेख लेख्नेका कुरा मात्र कति सुन्ने ?’ उनी सम्झन्छन्, ‘आफूलाई मानिसले छिटो पहिचान गरुन् भनेर हास्यव्यंग्य लेखेको थिएँ । तर, पछि त्यसमा नै रस पस्यो ।’

एक दिन एउटा घटना भएछ । बजार घुम्दै जाँदा एउटा पसलमा पुगेछन् । त्यो महिना पुछारको पातामा उनको लेख रहेनछ । 

त्यो पसलले उनलाई भनेछ, ‘यसको पुछारको पातो पढौं भनेर ल्याएको । यही महिना मोराशको लेख रहेनछ । कस्तो खल्लो । सधैं त्यो पढिन्थ्यो, मन चसक्क छुन्थ्यो, भित्री घोच्थ्यो, अनि कुतकुती पनि उत्तिकै लाग्थ्यो ।’

त्यसले शर्मालाई झनै हौसायो । उनी आफ्ना लेख पढ्दा रहेछन् भनेर लागे ।

शर्मा आफूले देखेका विषयलाई टपक्क टिप्छन् अनि त्यसमा फूलबुट्टाा भर्छन् । कहिले त्यसलाई घोच्ने बनाउँछन्, कहिले कुतकुताउने । ‘आखिर लेखनको मज्जा नै त त्यसमा छ,’ उनी भन्छन् ।

मोराश लेखनमा मात्र होइन, उमेर छँदा बोलीचालीमा पनि खुब हँसीमजाक गर्थे । कतिपय त उनी नजिक परेपछि अब हाँस्न पाइन्छ भन्थे भने कतिपय अब केमा व्यंग्य सुन्न पाइने हो भन्थे । 

अहिले पनि शर्मा कम हँसीमजाक गर्दैनन् । तर, गम्भीर बनाएको छ उनलाई विभिन्न सिद्धान्तले । ‘हास्यव्यंग्य ठ्याक्कै गम्भीर हुँदैन भन्न खोजेको चाहिँ होइन,’ उनी भन्छन्, ‘मनोरन्जन पनि व्यंग्य र हास्यको उद्देश्य भएकाले त्यति फरक नहोला ।’ 

लामो सैद्धान्तिक कुरा भयो । अन्य विधाका पनि कुरा भए । अन्तिममा शर्माले भने, ‘म त शिक्षक मान्छे, लामो बोलेको छु । बोल्न पाएँ भने थाक्दा पनि थाक्दिनँ । शिक्षकका कुरा छोट्याएर, माझेर चुरो बनाउनुपर्छ ।’

कुराकानी सकेर ट्याङ्लाफाँटबाट रिङरोडतर्फ फर्किंदा थुप्रै कुरा खेले मेरो मनमा । लामो समय अघिदेखि मैले पढेको र सुनेको नाम हो, मोहनराज शर्मा (मोराश) । उनका रचना पढ्दा म एउटा फरक किसिमको स्वाद पाउँथे । सैद्धान्तिक रूपमा पनि मिलेका, पढ्दा रमाइला पनि लाग्ने । उनीसँगै कुराकानी गर्ने मेलोमेसो मधुपर्कले मिलाइदियो, मधुपर्ककका सम्पादक श्रीओम दाइले मिलाइदिनुभयो । 

क्याम्पसमा पढाउने गुरुसँग कसरी कुरा गर्ने वा कुन कुरालाई प्राथमिकता दिने भन्ने विषयमा म लामो समय दोधारमा परें । ७३ वर्ष पुगिसकेका मोहनराज शर्मा सरसँग ज्ञानका भण्डार थुप्रै थिए । कुनै विषयमा बोलेपछि त्यसको पुछारदेखि शिरसम्म ठ्याक्कै मिलाउन सक्ने ज्ञान छ, उनीसँग । 

त्यसैले प्राथमिकतामा परेनन्, जन्म, शिक्षा तथा औपचारिक कुराहरू । उनका ती सबै कुराभन्दा बढी महत्त्वका छन् लेखाइका कुरा । 

अथाह ज्ञानलाई कसरी शब्दसीमामा समेट्न सकिएला र ?

 

(बिहिबार विहान अस्पतालमा उपचाररत माेहनराज शर्माकाे निधन भयाे । केही वर्षअगाडि लेखिएकाे याे फिचर उनकाे उनको सम्झनामा पुनर्प्रकाशन गरिएको हो ।)


  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार १३:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया