बागमती प्रदेशमा बर्सेनि बढ्दैछ सडक दुर्घटनाको ग्राफ

बागमती प्रदेशमा सडक दुर्घटनाका घटना बर्सेनि बढ्दै गएका छन् । गत आर्थिक बर्ष २०७८/०७९ मा काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा मात्र १ हजार ७ सय ९८ सडक दुर्घटना भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

प्रदेश प्रहरीको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटना भएका थिए । गत आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा ४ सय १३ मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाएका छन् । जसमा ३ सय २६ पुरुष, ६२ महिला, १८ बालक र सात बालिका रहेका छन् । 

त्यस्तै, सडक दुर्घटनामा परेर १ हजार १२ जना गम्भीर घाइते भएका छन् । जसमध्ये ७ सय ३४ पुरुष, १ सय ८६ महिला र ९२ बालबालिका रहेका छन् । त्यस्तै, २ हजार ९ सय ८३ जना सामान्य घाइते भएका छन् । जसमध्ये १ हजार ९ सय ५६ पुरुष, ७ सय ५० महिला र २ सय ७७ बालबालिका दुर्घटनामा परेर सामान्य घाइते भएका प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक छ । 

कच्ची सडक र बढ्दो सवारी चापका कारण सडक दुर्घटनाको ग्राफ निरन्तर बढ्दै गइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता दीपक रेग्मीले बताए । उनका अनुसार सवारी साधनको संख्या पनि बढेको र सडकको स्तरोन्नती पनि नभएका कारण समेत सडक दुर्घटनाको जोखिम बढिरहेको छ ।

कुन जिल्लामा कति दुर्घटना ?

उपत्यकाबाहेकका जिल्लामध्ये सबैभन्दा धेरै सडक दुर्घटना चितवनमा हुने गरेको पाइएको छ । गत आर्थिक वर्षमा चितवनमा ७ सय १३ सडक दुर्घटना भएका प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चितवनमा सडक दुर्घटनाबाट १ सय ३९ जनाको मृत्यु भएको छ । जसमा १ सय ६ पुरुष, २१ महिला र १२ बालबालिका रहेका छन् । 



गम्भीर घाइतेको संख्या २ सय ५४ रहेकोमा १ सय ८० पुरुष, ४९ महिला, २५ बालबालिका रहेका छन् । त्यस्तै, सामान्य घाइते हुनेको संख्या ७ सय १३ रहेकोमा ४ सय ७१ पुरुष, १ सय ८४ महिला, ५८ बालबालिका रहेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै, मकवानपुरमा एक वर्षको अवधिमा ५ सय ७७ सडक दुर्घटना हुँदा ७० जनाले ज्यान गुमाएका छन् । जसमा ६३ पुरुष, ५ महिला र २ बालबालिका रहेका छन् । गम्भीर घाइते हुनेमा १ सय ५० पुरुष, २० महिला र ११ बालबालिका रहेका छन् । ५ सय ७७ साधारण घाइते भएकोमा पुरुष ३ सय ९२, महिला १ सय २५ र ६० बालबालिका सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।



सिन्धुलीमा एक वर्षको अवधिमा २ सय ९१ सडक दुर्घटना हुँदा ४४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३८ पुरुष, ४ महिला र २ बालबालिका रहेका छन् । गम्भीर घाइते हुनेमा पुरुष १ सय २०, महिला २१ र बालबालिका १२ रहेका छन् । सो अवधिमा ३ सय ९० सामान्य घाइते भएका छन् । त्यस्तै, रामेछापमा ३२ सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ पुरुष र आठ महिला रहेका छन् । गत आर्थिक वर्षमा रामेछापमा सडक दुर्घटनाबाट १९ जना गम्भीर घाइते भएका थिए । 

दोलखामा एक वर्षको अवधिमा ४० सडक दुर्घटना भए । जसमा पाँच जनाले ज्यान गुमाए । त्यस्तै, दुर्घटनामा ३८ जना गम्भीर घाइते भए । ३६ जना सामान्य घाइते भएका छन् । गएको वर्ष काभ्रेमा १ सय ५१ सडक दुर्घटना हुँदा ४२ जनाले ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा ३१ जना पुरुष, ६ महिला र ५ बालबालिका रहेका छन् । त्यस्तै, गम्भीर घाइते हुनेमा पुरुष ५२ जना, महिला १७ जना र बालबालिका ८ गरी ७७ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । सोही अवधिमा २ सय ३७ जान सामान्य भए । त्यस्तै, सिन्धुपाल्चोकमा ६७ सडक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १४ जना पुरुष, पाँच महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३ गरी ३८ जना गम्भीर घाइते भए । 

नुवाकोटमा ८२ सडक दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १० जना पुरुष, तीन महिला र एक बालिका रहेका छन् । गत वर्ष जिल्लामा दुर्घटनामा परी ४ गरी ५३ जना गम्भीर घाइते भएका छन् ।

धादिङमा २ सय ७२ सडक दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा ४३ जना पुरुष, ९ महिला र एक बालिका रहेका छन् । गत आर्थिक वर्षमा १ सय २८ जना पुरुष, ३७ महिला र २१ बालबालिका गम्भीर  घाइते भए ।

रसुवामा गत वर्ष १३ सडक दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा दुईजना पुरुष, एक महिला र १ बालिकाको मृत्यु भएको छ । त्यस्तै, गम्भीर घाइते हुनेमा ६ पुरुष, दुई महिला र दुई बालिका रहेका छन् । ६ जना साधारण घाइते भएकोमा पुरुष तीन, महिला एक र दुई बालबालिका साधारण घाइते भएका प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १३:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया