इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने जनाए पछि त्यसको विरोध हुन थालेको छ । बिहीबार अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाल आयल निगमले यथावत् राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न अनेरास्ववियु (क्रान्तिकारी)ले माग गरेको हो । निगमले भने बुधबार नै एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य नघट्ने स्पष्ट पारिसकेको छ ।
भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । दुई हप्ता अघि पनि भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। भारतबाट मूल्य घटेर आए पनि त्यो बेलासमेत आयल निगमले मूल्य घटाएको थिएन।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।