बाजुराका ९ स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षमा बुझे ३० करोड
फाइल तस्वीर

बाजुराका ९ स्थानीय तहका जनप्रतिनिधिले गएको ५ वर्षमा ३० करोडभन्दा बढी रकम बुझेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित बाजुराका जनप्रतिनिधिले सेवासुविधाबापत ३० करोड ४७ लाख १८ हजार २५० रुपैयाँ बुझेका हुन् ।

महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार जिल्ला ९ वटै स्थानीय तहका जनप्रतिनिधिको सेवा-सुविधाबापत उक्त रकम लिएका हुन् । आथिर्क वर्ष ०७७/०७८ को प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा बढी सेवा-सुविधा लिनेमा बूढीनन्दा नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । बूढीनन्दा नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष ०७७/०७८ मा ९८ लाख ८५ हजार ५ सय रुपैयाँ सेवा-सुविधाबापत बुझेका छन् ।

त्यसैगरी बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले ९१ लाख ४५ हजार ५ सय रुपैयाँ सेवा सुविधाबापत बुझेको प्रतिवेदनमा उल्लेख छ । गौमुल गाउँपालिकाका जनप्रतिनिधिले ६२ लाख ६५ हजार ५ सय रुपैयाँ बुझेको देखिन्छ । त्यस्तै, खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिले ७२ लाख ५५ हजार लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जगन्नाथ गाउँपालिकाका जनप्रतिनिधिले ६२ लाख ४ हजार लिएको पाइएको छ ।

बूढीगंगा नगरपालिकाका जनप्रतिनिधिले ५३ लाख ६ हजार ५ सय रुपैयाँ सेवा-सुविधाबापत बुझेका छन्, भने हिमाली गाउँपालिकाका जनप्रतिनिधिले ६४ लाख ४५ हजार ५ सय बुझेका छन् ।

यता, त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिले ५२ लाख ९५ हजार १५० रुपैया सेवा-सुविधाबापत लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधिले ५१ लाख ७ हजार गरी आर्थिक वर्ष ०७७/०७८ मा बाजुराका ९ स्थानीय तहका जनप्रतिनिधिले ६ करोड ९ लाख ४३ हजार ६ सय ५० रुपैयाँ सेवा-सुविधाबापत बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

हरेक आर्थिक वर्षमा हरेक पालिकामा सेवा-सुविधाबापत फरक-फरक रकम पाएका छन् । १० वटा वडा रहेको बूढीगंगा नगरपालिकाले अरू स्थानीय तहकोभन्दा कम सेवा-सुविधा लिएको पाइएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार २०:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया