बझाङका ५ विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक भवन निर्माण

जिल्लाको केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरूमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरू निर्माण गरिएका छन् । वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरू निर्माण गरिएका हुन् । 

जयपृथ्वी नगरपालिका वडा नम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेलाखेतका साथै वडा नम्बर ११ मा रहेको निलकट्टी माध्यमिक विद्यालय दैकुमला र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मा रहेको नवादेव आधारभूत विद्यालयमा अहिले सुविधा सम्पन्न बालमैत्री र भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गरिएका छन् । 

जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न विद्यालयहरूमा अपाङ्गता मैत्री शौचालयहरू समेत निर्माण गरिएको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए । आगामी दिनमा बनेका संरचनाहरूको संरक्षण हेरचाह गर्नुपर्ने उनले बताए । भौतिक संरचना निर्माण गर्नु ठुलो कुरा नभएर सबै भन्दा बालबालिकाको गुणस्तरीय शिक्षामा सबैले ध्यान दिनुपर्नेमा जोशीले जोड दिए ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ११ को सबै भन्दा विकटमा रहेको निलकट्टि माध्यमिक विद्यालय दैकुमलामा भवनको अभाव हुँदा विद्यार्थीहरुलाई पठनपाठन गर्न समस्या हुने गरेको र अहिले सन्थाले दुई कोठे भवन बनाएर विद्यालयलाई हस्तान्तरण गरिदिएपछि पठनपाठनमा निकै सहज भएको प्रधानाध्यापक प्रेमराज जोशीले बताए । विद्यालयको भवन मात्र नभएर विद्यालयमा संस्थाले घेरबार, बालमैत्री धारा र बालमैत्री कक्षाकोठा व्यवस्थापनका सामाग्रीहरु समेत सहयोग गरेको छ ।

वर्ल्ड भिजन र प्रगतिशील युवा समाजले जिल्लाका दुई पालिका जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा बालबालिकाहरूको शैक्षिक सुधारका लागी शिक्षकहरूलाई तालीम, शैक्षिक सामाग्री वितरण, विद्यार्थीहरूलाई पोसाक, कापी, कलम, भवन निर्माणमा संस्थाले सहयोग गर्दै आएको र जोखिममा रहेका बालबालिकाहरूको समृद्धिका लागि समेत संस्थाले काम गर्दै आएको प्रगतिशील युवा समाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताए ।



दुईवटा पालिकामा संस्थाले २ करोड ३७ लाख ५० हजार ३२ रुपैयाँ लागतमा ५ वटा विद्यालय भवन र ५ वटा शौचालय निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरणको काम  समेत भइरहेको जोशीले बताए । 



जयपृथ्वी नगरपालिका ११ मा रहेको निलकट्टी माध्यमिक विद्यालयको २ कोठे भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले नगरपालिकाका विभिन्न वडाहरूमा गुणस्तरीय शिक्षा अभिवृद्धि गर्नका लागि संस्थाले काम गर्दै आएकाले भौतिक संरचना निर्माणले विद्यार्थीहरूको पठनपाठनमा समेत मदत पुग्ने बताए । 

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १०:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया