सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेल गरेर चुनाव लड्ने समझदारी गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् ।

सिट बाँडफाँटको तयारी गर्न कार्यदलसमेत गठन भएको छ । कार्यदलमा कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीसहित नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन रहेका छन् भने जसपाबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्यमा रहेका छन् । भदौ पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ ।  

बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १२:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया