पक्राउ पर्ला सार्वजनिक बसमा हस्तमैथुन गर्ने व्यक्ति ?


काठमाडौं– एक व्यक्तिले सार्वजनिक बसमा हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य हालिदिएको भिडियो अनलाइनमा पोस्ट भएपछि यस्ता यौनहिंसाका घटनाबारे व्यापक चासो उत्पन्न भएको छ । सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर क्रिया–प्रतिक्रिया उत्पन्न भएको छ । यतिखेर ट्विटरमा ‘स्टे सेफ’ र ‘स्टप मास्टरब्युजिङ’ ह्यासट्याग चलिरहेको छ । 

महिला अधिकारकर्मी अम्रिता लम्सालले बुधबार साँझ सार्वजनिक सवारीमा भएको यौनदुर्व्यवहारको एक भिडियोबारे ट्विट गरिन् । उनले लेखिन्, ‘मलाई भर्खर एकजनाले बसमा हस्तमैथुन गरेपछि पछाडिबाट केटीको कपालभरि हालिदिएको भिडियो पठायो । यो कता रिपोर्ट गर्ने ? हिंसाको कति पराकाष्ठा नाघेको ? म यहाँ भिडियो पोस्ट गर्न सक्दिनँ । पूरै हेर्न सकिनँ ।’ 

यस विषयमा उनले प्र्रहरी हेडक्वार्टर, गृहमन्त्रालय र हेल्लो सरकारमा उजुरी गरी सहयोगका लागि अनुरोध गरिन् । तर, यो समाचार तयार पार्दासम्म कुनै पनि निकायले प्रतिक्रिया जनाएका छैनन् ।

लम्सालको उक्त पोस्टमा धेरैले कमेन्ट गरेका छन् । लेखक नयनराज पाण्डे कमेन्टमा लेख्छन्, ‘हद दर्जाको कुकृत्य ।’ त्यसैगरी, ट्विटर प्रयोगकर्ता सन्तोष आचार्य लेख्छन्, ‘देशमा न्याय व्यवस्था छैन । जसले जे गरे नि हुन्छ भन्ने कुराको प्रमाण हो । उक्त मानिस सामाजिक, राजनीतिक र भौतिक रुपमा शक्तिशाली छन् भने जहाँ रिपोर्ट गरे पनि केही हुँदैन । सर्वसाधारण हो भने जुन ठाउँमा रिपोर्ट दिए पनि कारबाही हुन्छ ।’

‘हे दैव ! काठमाडौंमा पनि यस्ता अक्षम्य अपराधी हुँदा रहेछन् ?’ हरि घिमिरे प्रश्न गर्छन् । सञ्जाल प्रयोगकर्ताहरुले प्रहरी हेडक्वार्टरको ट्विटर ह्यान्डललाई पनि मेन्सन गरेका छन् । यसबारे जिज्ञासा राख्दा महानगरीय प्रहरी प्रवक्ता पूजा सिंह भन्छिन्, ‘हामीलाई यस विषयमा कुनै जानकारी छैन । हामी छिटै पत्ता लगाउनेछौँ ।’ 

यता, प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भने यो कुरा नोटिसमा आइसकेको बताउँछन् । ‘प्रहरी डिजिटल फरेन्सिक ल्याब र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता सुवेदी भन्छन्, ‘हामी छिट्टै अपराधी सार्वजनिक गर्छौं ।’ 



यस्तै प्रकृतिको पुरानो भिडियोका आधारमा अनिसा कोइरालाले फेसबुक स्टाटसमा आफूले त्यस्ता भिडियो बनाएर भाइरल गर्ने गिरोहबारे थाहा पाएको लेखेकी छिन् । उनले उक्त बस फोर्स कम्पनीको भएको र बालकोट काँडाघारी रुटमा चल्ने पनि बताएकी छिन् । 

काठमाडौंमा चल्ने सार्वजनिक सवारीमा यस्ता घटना दोहोरिरहने आशंका पनि गरिएको छ । सामाजिक सञ्जालमा घटनाको व्यापक भत्र्सना भइरहेको छ र प्रहरीले यस्ता व्यक्तिको खोजी गरेर कारबाही गर्नुपर्ने माग व्यापक छ ।



  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार १८:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया