कानुनअनुसार नै मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुनअनुसार नै भएको  बताएका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आफ्नो दलसँग परामर्शसमेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टिकरण दिएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगको परामर्शअनुसार सरकारले सो निर्वाचनको मिति घोषणा गरेको पनि पटकपटक दोहोर्‍याए ।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यता नरहेको दाबीसमेत गरे । उनले निर्वाचनको मिति घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग फोन संवाद गर्न खोजेको तर सम्पर्क नभएको पनि जानकारी दिए । 

‘चुनावको मिति घोषणा गर्ने कुरा निर्वाचन आयोगले धेरै अगाडि प्रस्ताव गरेको हो । र, निर्वाचन आयोगको परामर्श अनुसार सरकारले गर्ने कुरा यो नियमित प्राक्टिसकै कुरा हो । प्रतिपक्षसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भन्ने कुरामा सत्यता छैन । यो चाहिँ हाम्रो जुन प्राक्टिस छ, कानुन, संविधान अनुसार नै भएको छ,’ मन्त्री कार्कीले भने, ‘अब यो तपाईंहरूलाई पनि थाहा दिऊ– प्रधानमन्त्रीले क्याविनेट सुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नु भएको थियो । त्यसमा म पनि उपस्थित छु । तर, त्यो बेला फोन संवाद हुन सकेन । त्यसपछि निर्णय भयो । मंसिर ४ गते निर्वाचन हुने कुरा अपेक्षित कुरा हो ।’ 

उनले सत्तारुढ दलहरूबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यकताअनुसार छलफल गर्दै अघि बढ्ने सहमती पनि गरिएको पनि बताए । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १३:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया