ओलीलाई सरकारको जवाफ : गुप्तचरी गर्न नागरिकको फोन ट्यापिङ गरिएको छैन
फाइल तस्वीर

सरकारले नेपाली नागरिकको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको जनाएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तचरी गर्नका लागि नागरिकको फोन ट्यापिङ भएको आरोप लगाएपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीले लगाएको आरोप निराधार रहेको पनि बताए । 'केही सञ्चारमा माध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु' उनले भने ।

उनले भ्रमका पछि नलाग्न समेत अनुरोध गर्दै सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताए ।

'यस्तो भ्रममा कोही पनि नपर्नुहुन अनुरोध गर्दछ । सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत छ । यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु' उनले भने ।

एमाले अध्यक्ष ओलीले बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरकारले गुप्तचरी गर्न जनताको फोन ट्यापिङ गरिरहेको आरोप लगाएका थिए । उनले नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्‍न उठाएका थिए । सकारले ओलीको उक्त आरोपको खण्डन गर्दै स्वतन्त्रता र गोपनीयताको अधिकार सचेत रहेको स्पष्ट पारेको हो ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १५:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया