नेकपा (एमाले)का नेता भीम रावलले सरकार राष्ट्रिय हितका विषयमा चुप लागेर बसेको आरोप लगाएका छन् ।
उनले हिन्दप्रशान्त महासागर क्षेत्रमा शक्ति राष्ट्रको प्रतिष्पर्धा चलिरहँदा पनि नेपाल सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरे ।
रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले शक्ति राष्ट्रहरुको द्वन्द्वमा नेपाललाई जान नदिने दृढता सरकारमा नभएको तर्क गरे ।
'नेपालको स्वतन्त्र असंलग्न परराष्ट्र नीति अनुरुप अगाडि बढ्ने शक्ति राष्ट्रहरुको कुनैपनि द्वन्द्वमा नेपाललाई जान नदिने त्यो दृढता यो सरकारमा छैन्' उनले भने ।
नेता रावलले वर्तमान सरकार देश र जनताप्रति संवेदनशील नभएको आरोपसमेत लगाए । उनले प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु जसरी पनि निर्वाचन जित्ने र पदमा पुग्ने होडबाजीमा रहेको टिप्पणी गरे ।
उनले गठबन्धनका गतिविधिहरुले पदमा पुगेर विदेशीको अगाडि लम्पसार भई देशको स्वाभिमानलाई झुकाउने देखाएको जिकिर गरे ।
'गठबन्धनका नेताहरु, स्वयं प्रधानमन्त्री आउने निर्वाचन जसरी पनि जित्ने, फेरि पदमा जाने, फेरि व्यापक रुपमा हाम्रा देशका श्रोत–साधनहरुको राष्ट्रहित विपरीत दोहन गरिएको छ । विदेशीको अगाडि घुँडा टेकेर, लम्पसार भएर हाम्रो स्वाभिमानलाई झुकाइएको छ त्यही बाटोमा हिँड्ने, अहिलेका यी गतिविधिले त्यो नै देखाउँछ' उनले भने ।
रावलले वर्तमान सरकारलाई कुनै लाज–घिन नभएको टिप्पणी गरे । उनले देशको राजधानी नै फोहोरले ढाकिँदा पनि सरकारले महानगरको काम भन्दै उम्किएको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।