राजस्व नबुझाउने मकवानपुरका १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

हेटौंडा स्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको छ । लिखित तथा मौखिक रुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको हो ।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर बक्यौतातर्फ सात वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धि कर बक्यौता तर्फका ६ वटा व्यावसायिक फर्म रहेको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए । कारबाहीमा परेका र राजस्व नबुझाएको ले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।

यसै गरी, चालु आर्थिक वर्ष २०७८/०७९ मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व संकलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६ अर्ब चार करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अर्थात् तोकिएको भन्दा १०६ प्रतिशत राजस्व संकलन सो कार्यालयले गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गतेसम्ममा आय करतर्फ एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घर बहाल करतर्फ दुई करोड ७६ लाख ७२ हजार, ब्याज करतर्फ पाँच करोड  छ लाख ४२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार रुपैयाँ, अन्तःशुल्क करतर्फ तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयकरतर्फ एक अर्ब १२ करोड ९४ लाख ११ हजार रुपैयाँ, घर बहाल करतर्फ तीन करोड ५३ लाख ७८ हजार रुपैयाँ, ब्याज करतर्फ छ करोड ४० लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ३३ करोड ४२ लाख रुपैयाँ, अन्तःशुल्क करतर्फ दुई अर्ब ९८ करोड ८६ लाख ३६ हजार रुपैयाँ र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको बताइएको थियो । 





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ११:५१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया