नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी व्यक्तिहरुको खोजी तथा पहिचान गरी उनीहरूको सम्मानका लागि जिल्ला स्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले बुद्धिजीवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजीवीका कुरा सुन्ने निर्णय गरेको छ ।
बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले एक विज्ञप्ति जारी गर्दै बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाब र टिप्पणी संकलन गरिने जानकारी दिए ।
बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । प्रचार विभाग प्रमुख बर्तौलाका अनुसार बैठकले बागमती प्रदेश जनसंगठनहरुको वैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको बैठक तत्काल बोलाएर कार्ययोजना निर्णमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले विधानबमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद निर्माणको लागि तीन दिनभित्र प्रदेशअन्तर्गतका सबै जिल्लालाइ सल्लाहकार परिषदमा समेट्नुपर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले गठबन्धन सरकारको प्रत्यक्ष संलग्नतामा आकाशिँदो महँगी, भ्रष्टाचार, कमिसनतन्त्र र माफियाकरणको विरुद्ध सम्पूर्ण जिल्ला र पालिका तहसम्म दबाब खबरदारीसहितको आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाइ मनोनीत गरेको छ । मनोनीत हुनेमा श्रीधर पोखरेल, सुमित्रा राजवंशी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपालजी गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देवेन्द्र खत्री र सुरेश राना रहेका छन् ।
बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी र सहइन्चार्जहरू कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।