प्रधानन्यायाधीशविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छः वर्षमान पुन
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीश विरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।

सोहीअनुसार नै महाअभियोग अघि बढाइएको स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाभियोग अघि बढाइएको बताए ।

उनले भने ‘समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु जुन उसको जिम्मेवारी छ, त्यो छिटै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ । यो कुरा अहिलेकै संसदले टुंगो गर्नुपर्छ । जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ । तीन महिना भनेको अधिकतम समय हो । यसलाई टुंगोमा पुर्‍याउने गरेरै ल्याएको हो ।’

सांसद पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार माने र पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरूका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए ।

उनले भने ‘पार्टीहरूका गम्भीरता र संवेदनशीलतालाई पनि हेरेर व्यावहारिक रुपले पहिले नीतिगत व्यवस्था गरौँ, निश्चित आधार बनाऔँ र सिटहरु बाँडफाँट गरौँ भन्ने कुरा छ । गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेका छौँ । त्यसै अनुसार तालमेल मिलाउँछौँ ।’

सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्ने कुरा स्वभाविक भएको बताए ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १७:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया