समकक्षीले उम्मेदवारी घोषणा गरिसके, दुविधामा ऐन महर

सरकारले आगामी ४ मंसिरका लागि संघीय र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी सुरु भएको छ ।

आसन्न निर्वाचनका लागि पनि सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने सहमति गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनावी मैदानमा होमिने बताएको छ ।

स्थानीयपछि अब संघ र प्रदेश चुनावमा पनि सत्ता गठबन्धनको मुख्य टक्कर नेकपा एमालेसँग हुने भएको हो । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धन थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।

यसपटक संसदको ठूलो दल भए पनि एमाले प्रतिपक्षमा छ । एमालेलाई सडकमा ल्याएका पाँच दलीय गठबन्धन तालमेल साथ चुनावी मैदानमा होमिन लागेका हुन्

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर पनि उम्मेदवार बन्ने चर्चा छ ।

नेता महरका समकक्षी विद्यार्थी नेताहरू नेविसंघ पूर्वसभापति नैनसिंह महर, अनेरास्ववियू क्रान्तिकारी पूर्वअध्यक्ष रन्जित तामाङले आफ्नो उम्मेदवारी घोषणा गरी सकेका छन् ।



रन्जितले झापा क्षेत्र नं. १ बाट उम्मेदवारी घोषणा गरेका छन् भने नैनसिंहले कैलाली, कन्चनपुर वा काठमाडौंमध्ये कुनै एक जिल्लामा आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।

ऐनलाई आगामी निर्वाचनमा उम्मेदवारी दिने कि नदिने भनेर सोध्दा केही दुविधामा देखिए । तपाईंका समकक्षी विद्यार्थी नेताले उम्मेदवारी घोषणा गरिरहेका छन्, आगामी निर्वाचनमा तपाईंको उम्मेदवारी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा महरले पार्टीले उम्मेदवार बन्नुपर्छ भनेर प्रस्ताव गरेको खण्डमा स्वीकार गर्ने तर आफू नै हुनुपर्छ भनेर अडान नकस्ने बताए ।



उनले भने, ‘उम्मेदवार बन्ने वा नबन्ने भन्ने कुरा पार्टीले पत्यायो, टिकट दियो भने सम्भव हुन्छ । सबै साथीभाइले लाग्नुपर्छ भन्यो भने ठीक छ । तर, टाउको जुधाएर, मै हुँ भनेर, सस्तो लोकप्रियताका लागि म नै उम्मेदवार हुँ भन्दिनँ ।’

महरले आफू चुनावमा सहभागी भइहाले बझाङ नै निर्वाचन क्षेत्र हुने उल्लेख गरे । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा जोडिएपछि बझाङलाई नै आफ्नो राजनीतिक थलो बनाएको महर बताउँछन् ।

‘मेरो चुनाव क्षेत्र बझाङ हो, पार्टीले उम्मेदवार बनाए त्यहीँबाट उम्मेदवार रहन्छु । बनाएनन् भने त्यसमा मेरो भन्नु केही छैन । पार्टीले सोध्यो भने इच्छुक छु भन्छु । पार्टीको इमान्दार कार्यकर्ता भएकाले म पार्टीले भनेको मान्छु,’ महरले भने, ‘विद्यार्थीबाट बिदाइ भइसकेपछि भूगोल केन्द्रित राजनीति नै गर्छु । महाधिवेशनबाट बझाङ जिल्ला सह–इन्चार्ज भइसकेपछि अबको राजनीति यहीँबाट गर्छु, विगतमा पनि बझाङमा थिएँ अबको राजनीति पनि बझाङ केन्द्रित नै हुनेछ ।’ 

युवा राजनीतिमा आउनुपर्छ भन्ने सवालमा आफ्नो धारणा स्पष्ट रहेको महरले बताए । ‘स्वभाविक रूपमा युवाले पछिल्लो समयको टेक्लोनोजीलाई बुझेर काम गर्न सक्ने राम्रो हुन्छ । युवाले हरेक नयाँ जेनेरसनले नयाँ चेतनाको निर्माण गर्छ । युवा आउनु पर्छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिकको पात्रको रूपमा टिकट पनि समस्या नभएको अवस्थामा पनि तपाईं किन दाबी गर्नुहुन्न भन्ने प्रश्नमा नेता महरको जवाफ छ ‘पार्टी अध्यक्षले मलाई विश्वास गर्लान्, मेरो व्यक्तिगत सम्बन्ध उहाँसँग राम्रो होला, त्यो अलग कुरा हो । तर, चुनाव लड्ने कुरा पार्टी अध्यक्ष चाहेर मात्र हुँदैन । पहिलो कुरा पार्टीले विश्वास गर्ने कुरा हो । कार्यकर्ताले विश्वास गर्नुपर्यो । जनताले चाहनुपर्यो त्यसपछि निष्कर्षमा पुग्न सकिन्छ ।’

उनले आफूलाई पार्टीले टिकट दिए/नदिए पनि इमान्दार भएर जिम्मेवारी पूरा गर्ने बताए । उनका अनुसार पार्टीले चुनावमा भाग लिँदा सडक, सदन सबैबाट आफ्ना कुरा राखेर अगाडि बढ्ने नीति पार्टीले अवलम्बन गरेको छ । त्यसैअनुसार सत्तापक्षका कमीकमजोरी, भ्रष्टाचारलगायतका विषयमा आफूले चुनावी अभियानमा जनतालाई स्पष्ट पार्ने उनले बताए ।

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया