असारे विकासको नतिजा : एक महिनामै भत्कियो २० लाख खर्चेर बनाइएको पोखरीको घाट

महोत्तरीको मटिहानी नगरपालिकाले असार मसान्तको अन्त्यमा बजेट सकाउन हतार–हतार निर्माण गरेको काम गुणस्तरहीन भएको पाइएको छ । नगरपालिकाले २० लाखको लागतमा असारको अन्त्यतिर निर्माण गरेको स्थानीय एक पोखरीको घाट १ महिना नबित्दै भत्किन लागेको हो ।

मटिहानी नगरपालिकाको वडा नम्बर–२ आबर गाउँमा रहेको ‘दुखा’ पोखरीमा २१–२२ मिटरको घाट निर्माणमा पालिकाले २० लाख लगानी गरेर पालिका प्रमुख, इन्जिनियर र ठेकेदारले नाम मात्रको काम गरी सबै पैसा भ्रष्टाचार गरेको स्थानीयको आरोप छ ।

नाम मात्रको उपभोक्ता समिति गठन गरेर नगरप्रमुख, अधिकृत र इन्जिनियरले आफ्नो नजिकको ठेकेदारलाई घाट निर्माणका लागि असार मसान्तमा कार्यकर्ता पाल्ने हिसाबले उक्त ठेक्का कमिसन पाएकै भरमा दिएका थिए । तर, अहिले निर्माण भएको १ महिना नबित्दै उक्त घाट भत्किन सुरु भएको स्थानीय रामभरोस महतोले बताए । 

नगरप्रमुख हरिप्रसाद मण्डलले कमिसनको चक्करमा करोडौँका योजनाहरू आफ्ना आसेपासेलाई बाँडेर गुणस्तरहीन काम गर्न लगाएको उनले जिकिर गरे । आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई निरन्तरता दिइएको उनको गुनासो छ । नगरप्रमुख मण्डलले आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर आयोजनाको जिम्मा दिई बजेट दुरुपयोग गरेको उनको दाबी छ ।

असारमा वर्षाको समयमा ठेकेदारले विनाकुनै सरकारी मापदण्डको काम गरेकोले महिना दिन पनि नबित्दै संरचना भत्किन लागेको उनको आरोप छ । ठेकेदारले घाट निर्माणमा दुई नम्बर इँटा प्रयोग गरेको, कुनै पनि ठाउँमा रडको प्रयोग नगरेको र सस्तो सिमेन्ट प्रयोग गरेकोले १ महिना नबित्दै भत्किएको स्थानीय जयकिशोर मुखियाको दुःखेसो छ । 

मुखियाले सरकारी स्तरबाट खर्च हुने बजेटलाई जेनतेन खर्चिनुभन्दा तिनको सदुपयोग गर्नु आवश्यक रहेको बताए । ‘असारे विकास’का माध्यमबाट बजेट सक्ने चटारोले रकमको दुरुपयोग बढाउनुका साथै गुणस्तरमा पनि प्रश्न उठेको उनको भनाइ छ ।



स्थानीयले आफूहरु पटक–पटक वडाध्यक्षलाई कमसल काम रोक्न आग्रह गरेको, इन्जिनियर र मेयर समेतलाई आग्रह गर्दा पनि कसैले सुनुवाइ नगरेको बताउँछन् ।

यस सम्बन्धमा वडाध्यक्ष नाजिर राइनसँग सोधपुछ गर्दा उनले सो पोखरीमा इन्जिनियर र ठेकेदारको बदमासीका कारण कमसल काम भएको स्वीकार गरेका छन् । 



उनले आफू असारको बेला वडाको अन्य काममा व्यस्त रहेको मौका छोपी ठेकेदारले मनोमानी गरेर कमसल सामग्रीको प्रयोग गरेको र इन्जिनियरले ठेकेदारसँग आर्थिक चलखेल गरेर काम सम्पन्न हुनु अगाडि नै आफूसँग काम सम्पन्नको सिफारिस समेत गराएको बताए । 

वडाध्यक्ष राइनले आफूले इन्जिनियरलाई ठेकेदारको धरौटी रकम रोकेर राख्न तथा उनलाई सो पोखरीको घाट पुनः निर्माण गर्न आग्रह गरेको जानकारी दिए । 

वर्षभरि कामै नगरी आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हतार–हतार देखावटी काम गर्ने पुरानो प्रवृत्ति यसवर्ष पनि यथावत् नै रहेको देखियो । यस्तो अवस्थामा विकासको नाममा जनताले छाक काटेर बुझाएको रकम दुरुपयोग हुने खतरा देखिन्छ ।
 

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया