नयाँ प्रविधि र अभ्यासका साथ निर्वाचन गराउँछौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नयाँ प्रविधि र अभ्यासका साथ अघि बढ्ने बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको स्थानीय तह निर्वाचन, २०७९ प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोग नयाँ ढंगले जाने बताए । थपलियाले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रयोग हुने मतपत्र र मतदान स्थललाई पनि सरल र सहज बनाउने विश्वास व्यक्त गरे ।

'प्रत्येक निर्वाचनको लागि ४ वटा निर्वाचन गछौं यसमा । नजिता एउटै निस्किए पनि प्रतिनिधिसभा र प्रदेशसभाको फस्ट पार्ट त उसको एउटा मतपत्र हुन्छ त्यहाँ मतदान गर्नुपर्छ । समानुपातिक तर्फको अर्को हुन्छ प्रतिनिधि सभाको । त्यस्तै गरेर प्रदेशतर्फको पनि फस्ट पार्ट त एउटा मतपत्र हुन्छ । समानुपातिकको अर्को मतपत्र हुन्छ । पहिले ७ वटा मतपत्र एउटै बाकसमा गरिएकोमा अहिले ४ वटा मतपत्र ४ वटा छुट्टाछुट्टै ठाउँमा गएर मतदान गरेर ४ वटा छुट्टाछ्ट्टै बाकसमा राख्ने भन्ने बित्तिकै यसले अहिले तपाईंले सोचिरहेकोमा पहिलेको जस्तो भयावह अवस्था होला भन्ने कुरालाई धेरै हदसम्म अहिलेको प्रणालीले चिर्छ । यद्यपि मतदाता शिक्षाको सन्दर्भमा पनि हामीले नयाँ प्रविधि र नयाँ अभ्यासका साथ जानुपर्ने स्थिति छ' उनले भने ।

उनले गत स्थानीय तहको निर्वाचनमा सुविधा सम्पन्न र साक्षर भनिएका ठाउँहरूमा समेत मतपत्र बदर भएको बताउँदै यसको कारण र समाधानको उपाय समेत खोज्नुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा राजनैतिक दलहरूलाई निर्वाचनको सिद्धान्त बमोजिम समान किसिमको प्लेटफर्म र समान हैसियत कायम गर्ने किसिमले सूचना तथा समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन् ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार २१:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया