मकवानपुर १ बाट प्रतिनिधिसभामा चारजनाको चर्चा, जोगाउला त एमालेले साख ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणासँगै मकवानपुरमा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन् । सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । 

मकवानपुरमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरूको कहाँबाट उम्मेदवार बन्लान् ? भन्ने परिचर्चा सुरू भइसकेको छ । निर्वाचनको मिति तय भएसँगै मकवानपुरको क्षेत्र नंबर १ मा को–को उम्मेदवार हुने भन्ने चर्चा पनि सुरु भइसकेको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरको क्षेत्र नंबर १ मा चारजना ‘हेभीवेट’ को भिडन्त हुने सम्भावना बढेको छ ।

यो पटक क्षेत्र नम्बर १ मा ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादीको गठबन्धनले कांग्रेस र राप्रपाको गठबन्धनलाई पराजित गरेको क्षेत्रमा योपटक चारजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रभावशाली नेताहरुको चुनावी भिडन्त हुने भएको चर्चा चलेको छ । 

गत निर्वाचनमा एमालेको तर्फबाट कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई पराजित गरेका थिए । यसपटक यस क्षेत्रमा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ तथा राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा मकवानपुरको क्षेत्र नम्बर १ को उम्मेदवारीको आकांक्षी देखिएका छन् । 

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत सत्ता गठबन्धनले केन्द्रबाटै उम्मेदवार तोकेर निर्वाचनमा जाने निर्णय गरेको छ । सोहीअनुसार निर्वाचनमा होमिँदा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई कांग्रेससहित अन्य चार दलको समर्थन रहनेछ । हालसम्म नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरुले केन्द्रकै निर्णय कुरेका कारण आकांक्षीहरुको चर्चा चलेको छैन । स्थानीय तहको निर्वाचनमा जसरी नै पाँचदलीय सत्ता गठबन्धन कायम रहे माओवादी र एसको समेत बानियाँलाई समर्थन रहने संकेत देखिएको छ । 

को बलियो ?



उम्मेदवारको आकांक्षीहरुको तुलना गर्ने हो भर्ने ४ जनामा को बलियो छ्ट्याउन कठिन नै छ । तर, कसले जनताको अपेक्षाअनुसार काम गरे ? कसले अघिल्ला निर्वाचनमा बहुमत प्राप्त गरे भन्ने कुराले भने कसले जित्लान् भन्ने कुराको आकलन गर्न सकिन्छ । 

इन्द्रबहादुर बानियाँले ०७४ सालको प्रदेशसभामा जित हासिल गर्दै पार्टीको साख जोगाउन सफल भएका थिए । बानियाँले १९ हजार २ सय ४५ मत ल्याउँदै विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएर पराजित हुन परेको थियो । वर्तमान प्रदेशसभा सदस्यसमेत रहेका बानियाँले प्रतिनिधिसभाको निर्वाचनमा पनि सफलता पाउने नेपाली कांग्रेस मकवानपुरका केही प्रभावशाली नेताहरुले बताउँदै आएका छन् । 



त्यसो त अर्का आकांक्षी नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल पनि उत्तिकै बलिया उम्मेदवारको नामले परिचित नै व्यक्ति हुन् । नेकपा एमालेका उनी पनि एक प्रभावशाली नेता हुन् । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हुन् । राप्रपा त्यागेर हाल राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापा पनि मकवानपुर क्षेत्र नम्बर १ बाट नै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा जुटिरहेका छन् । 

अघिल्लो निर्वाचनमा दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापाले ३४ हजार ६५८ मत ल्याएर पराजित हुनुपरेको थियो । एमाले सँग तालमेल गरेर निर्वाचनमा होमिने आश गरिरहेका थापा पक्ष मिलेर जाने कि भन्ने मनाशयमा रहेको स्रोतले बताएको छ । 

यता, अर्का हेभीवेट नेताका रुपमा पछिल्लो समय निकै चर्चामा रहेका व्यक्ति हुन्, दीपक सिंह । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका सिंह पराजित भएपछि अहिले प्रतिनिधिसभाको उम्मेदवारीका लागि लबिङमा जुटिरहेका छन् । राप्रपाका उम्मेदवार सिंहले २० हजार ३१ मत प्राप्त गरेर  पराजित हुन परेको थियो भने मेयरमा विजयी भएकी मीनाकुमारी लामाले २३ हजार ६७ मत पाएकी थिइन् । 

साख जोगाउने कसरतमा एमाले 

मकवानपुरको क्षेत्र नम्बर १ मा आफ्नो साख बनाउँदै आएको नेकपा एमालेले यो पटको निर्वाचनमा साख जोगाउन सक्ला कि नसक्ला भन्ने पनि चर्चाको विषय बनिरहेको छ । स्थानीय निर्वाचनमा जसरी नै राजनीतिक दलहरुको सत्ता गठबन्धन भए एमालेले आफ्नो साख जोगाउन नसक्ला कि भन्ने त्रास रहेको एमालेका नेताहरु बताउँछन् ।

बहुदल स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले हाबी हुँदै आएको उक्त क्षेत्रमा ०५१ मा राप्रपा, ०६४ को पहिलो संविधानसभामा माओवादी, ०७० को दोस्रो संविधानसभामा नेपाली कांग्रेस विजयी भएका थिए भने पुनः ०७४ मा एमालेले नै जित हासिल गरेको थियो । अर्थात एमाले ०४८, ०५६ तथा ०७४ मा विजयी भएको थियो । एमालेबाट तीनैपटक कृष्णप्रसाद दाहाल विजयी भएका हुन् । 

मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रुपमा निर्धारण गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा​ उपमहानगरपालिकाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा बागमती गाउँपालिका, बकैया गाउँपालिका, र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ रहेका छन् ।

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार २२:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया