शाश्वतधाम : ५ वर्षमा ४२ लाखले गरे अवलोकन

नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थ यात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् ।

सन् २०१८ मा ‘वेस्ट टुरिस्ट डेस्टिनेसन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन् ।

ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मावलम्बीहरुले दर्शनका लागि विशेष रूपमा शाश्वतधाम आउँछन् ।

नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससँगै रहेको पार्क सबैका लागि मुख्य आकर्षण रहेको छ । मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ । साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन् ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ ।’

नारायणगढबाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औद्योगिक ग्राम छ । त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसँगै जोडिएको ७ बिघा क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यसको निर्माण फोब्र्स डलर अर्ब पति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो ।

धाममा के छ ?
वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरू एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् ।



हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्ति घाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरूले रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ । शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने संग्रहालय समेत यसै परिसर भित्र छ ।

आयआर्जन तथा रोजगारको अवसर
शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ । मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । उनीहरूले धाममा आउने पर्यटकहरूलाई लक्षित गरी व्यापार गर्न पाएका छन् ।



धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउँछिन् । ‘चिया राम्रो बिक्रि हुन्छ । धाममा युवादेखि वृद्धहरुसम्म आउने गर्छन्, चिया नै खोज्छन्’ सिर्जनाले बताइन् । सिर्जना मात्र होइन उनी जस्ता धेरैले धाममा आउने पर्यटक लक्षित गरी राम्रो व्यवसाय गरेका छन् । 

  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ८:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया