नागरिकताको अपमानजनक नाम सच्चिएपछि ३३ वर्षपछि कविरामको मुहारमा आएको खुसी

मंगलबार दैलेख जिल्ला प्रशासनको वातावरण भिन्न थियो । अघिल्लो दिन सोमबार गृह मन्त्रालयले नागरिकताको नाम–थरमा अपमानजनक शब्द समावेश भएमा सच्चाउनका लागि विज्ञप्ती जारी गरेको थियो ।

यही आधारमा मंगलबार जिल्ला प्रशासनको कार्यालयमा कविरामलाई खोज्नेहरूको पनि कमी थिएन । मानव अधिकारकर्मी, पत्रकारलगायत उनैको प्रतीक्षामा थिए ।

मध्यान्हको समयमा कविराम आफ्ना केही सहयोगीसहित जिल्ला प्रशासनको प्रवेशद्वार प्रवेश गरे । हातैले बुनेको स्विटर, कोट–पाइन्ट लगाएका कविराम हातमा केही थान कागजपत्रसहित प्रशासन छिरेका थिए । अन्य दिनको तुलनामा उनी केही फरक देखिन्थे । ढाका टोपीको साथमा सजिएको उनको मुहारमा बेग्लै चमक देखिन्थ्यो । प्रशासनमा उनी आफ्नो नाम परिवर्तन गर्न आइपुगेका थिए, नयाँ नाम थियो– कविराम ।

हुन त उनको नाम नै कविराम हो, थर कामी । तर, ७ भदौ २०४६ मा  नागरिकता लिँदा ‘कुकुर कामी’ भएछ । नागरिकता लिएपछि ३३ वर्ष उनले आफूलाई कुकुर कामी भनेरै परिचय दिए । नाम अपमानजनक थियो, तर बाध्यता पनि । उनी भन्छन्, ‘मलाई अरूका अगाडि कुकुर कामी भनेर नाम बताउन लाज लाग्थ्यो ।’ मंगलबार भने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसमक्ष निवेदन पेस गर्दै उनले भने, ‘मेरो नाम अब कविराम कामी हो ।’ 

वंशजका आधारमा कविरामले ७ भदौ २०४६ मा नागरिकता लिएका थिए । उनले २८ वर्षको उमेरमा नागरिकता प्राप्त गरे । नागरिकता लिएको ३३ वर्षपछि कविराम आफ्नो नाम सच्याइदिन अनुरोधसहितको निवेदन बोकेर दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलसमक्ष पुगेका हुन् ।



दैलेखको तत्कालिन मेहेलतोली गाउँ पञ्चायत–६ स्थायी ठेगाना रहेका उनको नागरिकतामा प्रधानपञ्चको सिफारिसका आधारमा नागरिकता टोलीले अपमानजनक नाम नै समावेश गरिदिएको थियो । साक्षरता अभावले नागरिकतामा उल्लेख आफ्नो नाम उनले पढ्न सकेनन् । पछि गाउँका केही व्यक्तिले नाममा ‘कुकुर’ लेखेको बताएपछि उनले नागरिकताको टोलीलाई सच्याइदिन आग्रह समेत गरेका थिए । तर, उनको नाम भने सच्चिएन । 



भगवतिमाई गाउँपालिका–३ स्थित वडाको सिफारिससहित कविराम र उनका सहयोगी मंगलबार प्रशासन पुगेका थिए । कविरामको नाम सच्चाउनका लागि अम्मर सुनार, हिक्मत नेपालीलगायतका अभियानकर्मीसहित कविराम जिल्ला प्रशासन पुगेका हुन् ।
‘नागरिकतामा कुकुर कामी राख्दिएपछि नाम सच्याउन आएको छु’, उनले भने ।

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्वन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्चाउने व्यवस्था मिलाउन सोमबार मात्रै गृह मन्त्रालयद्वारा विज्ञप्ति जारी भएको थियो । नागरिकतामा अपमानजनक शब्द प्रयोग भएको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन/प्रशारण भएपछि गृह मन्त्रालयले नाम सच्याउन चाहनेका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । 

सोहीअनुसार कविराम मंगलबार नाम सच्याउन निवेदनसहित जिल्ला प्रशासन पुगेका थिए । उनी मात्र नागरिकतामा अपमानजनक नाम भएका व्यक्ति भने होइनन् । दैलेखमा उनीजस्तै अन्य व्यक्तिको समेत नागरिकतामा अपमानजनक नाम समावेश भएको छ । फ्याउरो कामी, कुकुर्नी खड्कालगायतका नाम रहेका नागरिक पनि जिल्लामा छन् ।

‘कविराम मात्र होइन दैलेखमा अन्य नागरिकको नागरिकतामा समेत अपमानजनक नाम उल्लेख रहेको भन्ने खबर पाएका छौँ । उहाँहरूलाई खोजी गरी नाम सच्याउन प्रक्रिया अघि बढाउने योजना छ’, दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । मंगलबार जिल्ला प्रशासनको कार्यालय पुगेका कविरामको नाम सच्याउन प्रक्रिया अघि बढेको प्रजिअ प्याकुरेलले बताए । 

‘कविरामको छोरा/छोरीको नागरिकतामा उल्लेख नाम पनि परिवर्तन गर्नुपर्ने हुन्छ । उहाँहरूको नागरिकतामा बुबाको नाम लेख्ने ठाउँमा सोही नाम लेखिएको छ, त्यो पनि सच्चाउनुपर्नेछ,’ उनले भने । यसका साथै जिल्लास्थित सबै स्थानीय तहमा बसोबास गरिरहेका नागरिकलाई नागरिकतामा अपमानजनक नाम/थर समावेश भए, सच्चाउनका लागि निवेदन दिनसमेत प्रमुख जिल्ला अधिकारी प्याकुरेलले अनुरोध गरेका छन् ।

  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १०:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया