चिलीका फरवार्ड एलेक्सिस सान्चेज फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्द गरेपछि उनी मार्सेलीमा अनुबन्धित भएका हुन् ।
मेडिकल र कागजी प्रक्रियापछि सान्चेजले बुधबार क्लबसँग २ वर्षको सम्झौता गरेका छन् । ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल गर्नुका साथै तीन उपाधि जिते ।
२०२१/२२ को सिजनमा भने सान्चेजले सिमोन इन्जाघीको प्रशिक्षणमा कमै अवसर पाएका थिए । उनले गत सिजन ३९ खेलमा अवसर पाउँदा ९ गोल गरे । सान्चेजले गत सिजन मात्र ७ खेलमा पहिलो रोजाइमा मौका पाएका थिए ।
सान्चेज २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर भित्रिएका सान्चेजलाई त्यसको एक सिजनपछि क्लबले स्थायी खेलाडी बनाएको थियो । उनी इन्टरले सिरी ‘ए’ सँगै सुपरकोपा इटालिया र कोपा इटालिया जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।
सान्चेजले चिलीका लागि १४८ खेलमा ४८ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।